विराटनगर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पार्टीका मोरङ जिल्ला जनसरकार उपप्रमुख रिता पासवानसहित दुई दर्जनभन्दा बढी कार्यकता पार्टी परित्याग गरी शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पासवान माओवादी पार्टीका राज्य समिति सदस्य पनि हुन् । पार्टी विभाजित हुँदा विभिन्न समूहमा सङ्गठित भएका कार्यकर्ताहरू स्थानीय तहको निर्वाचन तयारीसँगै एकीकृत हुने प्रक्रिया आरम्भ भएको उनीहरूले बताए । उनीहरूले जारी गरेको विज्ञप्तिमा माओवादी केन्द्रबाहेक अन्य माओवादी पार्टीले माओवादको आदर्शलाई तिलाञ्जली दिएको र गैरक्रान्तिकारी तथा संशोधनवादी लाइनमा गएको आरोप लगाइएको छ । नेकपा क्रान्तिकारी माओवादी पार्टीका राज्य समिति सदस्य तारावीर गुरुङ, महिला सल्लाहकार उमा पोखरेल, शत्रुधन साह, विमला राजवहाक, सुनिता पासवान, नकुल राम, दुला राम, सुरज साह, यशोधी पासवान, पार्वत, शनिचरी राम, रोजिना खातुन, गङ्गा राजवंशी, दामोदर निरौला, बद्री मण्डल, अञ्जुला राम, विद्यानन्द पासवान, लालकाजी श्रेष्ठ, गोपाल कार्की, थानेश्वर दाहाल, लक्ष्मी श्रेष्ठलगायत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका १ नम्बर प्रदेश इन्चार्ज गोपाल किराती, सहइन्चार्ज सावित्रिकुमार काप्mलेलगायतले उनीहरूलाई स्वागत गरेका थिए ।