काठमाडौं/ नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव टार्ने षडयन्त्र गरिरहेको आरोप लगाए । प्रचण्ड र देउवाले चुनाव गर्न खुट्टा कमाएको उनले आरोप लगाए ।
काठमाडौंको साँखुमा युवा संघले गरेको कार्यक्रममा चुनाव सार्ने कुरा एमालेलाई सह्यै नभएको भन्दै नेता नेपालले वैशाख ३१ गते नै चुनाव हुनु पर्ने बताए। चुनावको सबै तयारी भइसकेको अवस्थामा मधेसीलाई चुनावमा ल्याउने बहानमा स्थानीय तहको संख्या बढाउने भन्दै चुनाव नै अन्यौलमा पारिएको उहाँले दावी गरे । अब स्थानीय तहको संख्या बढाउनु निर्वाचन आचार संहिता विपरित हुने उनले बताए ।सरकारलाई चुनाव र देशको कुनै चिन्ता नभएकाले अहिले उपप्रधानमन्त्रीको वरियता विवादमा अल्झिरहेको उनले बताए।
‘सरकार बरियता विवादमा रमाइरहेको छ’ नेता नेपालले भन्नुभयो ‘बेलुकीसम्ममा दुई उपप्रधानमन्त्रीको भिडन्तमा एक घाइते भन्ने समाचार सुन्नुपर्ला जस्तो छ ।’ उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापामा को वरिष्ठ भन्ने विवादका कारण ३ हप्तादेखि मन्त्रीपरिषद बैठक बस्न नसक्दा विश्वसामु नेपालको बेइजत भएको उनले बताए । कार्यक्रममा नेता नेपालले राप्रपा र नेकपा माओवादी क्रान्तिकारी त्यागेर एमालेमा प्रवेश गरेका ६७ जनालाई पार्टीमा स्वागत गरेका थिए ।