धरान/२०७२ को संविधानलाई अस्वीकारका बाबजुद पनि स्थानीय तहको चुनावमा सहभागी हुने राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले बताएका छन् । ‘२०७२ को संविधान अपुरो छ, अधुरो छ । पश्चगामी छ । तर, पनि केही मुद्दाहरु हामीले उठाए अनुरुपको छ ।’ उनले जनमुक्तिको जनवर्गीय संगठन राष्ट्रिय पूर्व सैनिक संगठनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘त्यसैले पनि स्थानीय तहको निर्वाचनलाई उपयोगिताको नीति अनुरुप निर्वाचनमा सहभागी बन्छौं ।’ २०४७ को संविधान भन्दा केही गणतान्त्रिक संविधान भएकाले त्यसको जर्गेना गर्नैको लागि पनि स्थानीय निर्वाचनमा जनमुक्ति पार्टी सहभागी हुने उनले उद्घोष गरे । उनले हाम्रो मागमुद्धाहरु कांग्रेस, एमाले, माओवादी केन्द्र तथा राप्रपाले पूरा नर्गने बताए । ‘उनीहरुको मुद्दा संघीयता होइन्, पहिचान होइन् ।‘ उनले भने । स्थानीय निर्वाचनमा महिलालाई विशेष अधिकार दिएको छ यस अर्थमा २०४७ को संविधान भन्दा प्रगतिशील रहेको उनले बताए । संगठनका केन्द्रीय अध्यक्ष क्याप्टेन भीमबहादुर राना मगरको सभापतित्वमा भएको कार्यक्रममा पार्टी संस्थापक सदस्य एवम् मूल्यांकन तथा अनुमगन विभागका प्रमुख रामबहादुर तुम्बाहाम्फे, विभागका सह संयोजक तीर्थ राई, पार्टीकी केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, मोहन धिमाललगायतको उपस्थिति रहेको थियो ।