भक्तपुर/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देश हार्नुमा नेपाली कांगे्रसको ठूलो दोष रहेको आरोप लगाएको छ ।
नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई शनिबार भक्तपुरको ठिमीमा सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले सत्ताका लागि कांग्रेसले नै देश बिगारिरहेको आरोप लगाए।
देशको पटक पटक ठूलो पार्टी भएको कांग्रेसले ठूलो पार्टीको जिम्मेवारी सम्हाल्न नसक्दा देशमा स्वदेशी तथा विदेशी अतिवादी एवं विस्तारवादी शक्ति हाबी भएको बताउँदै उनले ठूलो पार्टी कांग्रेस नै भारतको ईशासारमा चल्दा देश विदेशी कब्जामा फस्दै गएको दाबी गरे ।
सत्ताका लागि ठूला पार्टीले देश विगार्ने तरा दोष अरुलाई दिनुको अर्थ नभएको टिप्पणी गर्दै बिजुक्छेले भने ‘घरको ठूला मूलीले नै रक्सी खाएर जुवामा घरखेत हार्छन्, त्यसमा घरका सदस्यहरुको के दोष ।’ पैसा खाएर र ठेक्का पट्टा मिलाइदिएको भरमा भोट किनबेच हुने क्रम बढ्दै गएकाले गलत व्यक्ति शक्तिमा पुग्ने गरेको उनकाे भनाई थियो ।
स्थानीय चुनाव दुई चरणमा गर्ने कुरा चुनाव नगराउने षडयन्त्र भएको बताउदै उनले स्थानीय तह चुनाव हुने घोषणा भई तयारी भइसकेको बताउँदै दुई चरणमा चुनाव गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप लगाए ।