शनिश्चरे । जिल्लामा निकै महत्वका साथ हेरिने झापा निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गतको दमक नगरमा माओवादी केन्द्र र राप्रपा पार्टीले नगर प्रमुखको उम्मेदवार टुंगो लगाएको छ । प्रमुख दल नेपाली कांग्रेस र दोस्रो प्रमुख दल एमालेले भने प्रमुख र उपप्रमुख छान्न सकेको छैन । यसअघिको १९ वडाबाट १० वडामा सिमित दमक नगरमा कांग्रेस र एमालेले नगर प्रमुखकै उम्मेदवारको टुंगो लगाउन नसकेर एककिसिमको खैलाबैला भएका कारण उपप्रमुखको प्रसंग खासै अघि बढ्न सकेको छैन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै दमकमा माओवादी केन्द्रले त नेपालमै सवैभन्दा पहिले प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा गरेको थियो । माओवादी केन्द्रबाट गत फागुन २१ गते रेवतराज पुरी गगनलाई प्रमुख र शान्ति धिमाललाई उप–प्रमुखको उम्मेदवारी घोषणा भएको थियो । उम्मेदवारी घोषणासँगै नगर समितिले शक्तिशाली नगर बनाउँदै दमकलाई १ नम्बर प्रदेशको केन्द्र प्रस्ताव गर्ने सहितका ७० बुँदे प्रतिबद्धतापत्र समेत जारी गरेको थियो । केन्द्रसँग राम्रै समन्वय भएका पुरी चुनावी प्रचार प्रसारमा उत्रिएका छन् । विकास निर्माणको अभियन्ताका रुपमा आफुलाई अगाडि बढाउने उनको भनाई छ ।

 केन्द्रीय राजनीति गरेपनि सधैं दमक नगरस्तरमै चुनावी प्रतिष्पर्धा गर्न रुचाउने राप्रपाका केन्द्रीय सहमहामन्त्री रामकुमार थापालाई पार्टीले नगर प्रमुखको उम्मेदवार टुंगो लगाएको छ । यसअघि मनोनित सरहको नगरप्रमुख भएका थापा अरु सामाजिक अभियन्तामध्येमा सवैभन्दा बढी अरुकोमा जन्ती र मलामी जाने व्यक्तिका रुपमा चिनिन्छन् । ‘आफू सधैं दमकबासीको बाँच्दाको जन्ती र मर्दाको मलामी हुँ । अनि दमक बुझेको मेरो अनुभवले नगरलाई उत्कृष्ठ बनाउन सक्छु । ’ उनले भने । उनले आफ्नो यो भनाई राख्दै मत माग्न थालेका छन् । पार्टीको प्रभाव भन्दा पनि थापाको व्यक्तिगत प्रभावले उनको उम्मेद्वारीलाई पनि दमकमा महत्वका साथ हेरिँदै आएको छ । उता, कांग्रेसमा भनें उम्मेदवार बन्ने आआफ्नै होडवाजी बढेकाले वडाबाट पाँच–पाँच जनासम्मको नाम सिफारिस गर्नुपरेको स्रोतले बताएको छ । कांग्रेसको केन्द्रीय समितिले तय गरेको उम्मेद्वारको मापदण्ड तथा सिफारिस समितिमा भएकाहरु नै उम्मेद्वारका आकाक्षंी र दाबेदार भएपछि उम्मेदवारको टुंगो लगाउन समस्या परिरहेको छ । कांग्रेसमा सक्रिय क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी स्वयम् नगरपालिकाको प्रमुखको उम्मेद्वारका रुपमा आफुलाई उभ्याउँदै आएका छन् । ‘केही परिवर्तनका लागि युवा पुस्ता अगाडि बढ्नु आवश्यक छ ।’– उमेरले ४५ वर्षीय उनले भन्ने गरेका छन् । तरुण दलका जिल्ला सभापति भइसकेका भूमीराज राईका साथै उनीहरु भन्दा उमेरले पाका महासमिति सदस्य शेरबहादुर भट्टराई र रोशन गौतम पनि प्रमुखको आकांक्षी देखिएका छन् । राप्रपाबाट कांग्रेसमा प्रवेश गरे लगत्तै गएको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनिएका घनेन्द्र सुब्बाले चुनावको मिति घोषणा लगत्तै स्वैच्छिक ढंगबाट आफुलाई मेयरको उम्मेद्वार घोषणा गरेपछि कांग्रेसमा अर्काे समस्या पैदा भएको बुझिएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेपाल महिला संघ क्षेत्रीय सभापति रेगिना भट्टराई ( प्रसाइँ) को नाम पनि कहिले प्रमुख त कहिले उपप्रमुखको उम्मेद्वारका रुपमा चर्चामा आउने गरेको छ । तर प्रसाईलाई उपप्रमुखको उम्मेदवार बनाउने सम्भावना देखिएको बेला महिला संघकी नगर सभापति लता चापागाइँको नामलाई पछिल्लो पटक उपप्रमुखका रुपमा एकाएक बढी चर्चामा ल्याइएको छ । क्षेत्रीय सभापति भइसकेकी चन्द्रा खड्का, गोमा बुढाथोकी र मन्दरा पौडेलको पनि उपप्रमुखमा नाम आएको छ । जिल्ला तहकै राजनीति गरिसकेका देवीप्रसाद दहाललाई प्रमुखको उम्मेदवार बनाउने कोशिष विफल भएपछि १० नम्वर वडाको वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय हुँदै गरेको छ । एमालेले भने दमकमा यसअघिको २ पटकको स्थानीय तहको निर्वाचनमा सान्दार जित हासिल गरेको थियो । त्यही जितका एक हिस्सेदार पूर्व नगर प्रमुख रोमनाथ ओलीलाई अघि सार्दा सर्वसम्मत निर्णय हुन सक्ने सम्भावना रहेको एमाले वृत्तमा यस अघि चर्चा भएको थियो । तर अहिले आएर पार्टीका नगर इञ्चार्ज समेत रहेका अम्बिका खनालको नाम निक्कै चर्चामा आएको छ । ‘आफुले नगरको विकासको आवश्यकतालाई केन्द्रसँग जोड्ने काम गर्दै आएँ । अव त झन स्थानीय तह नै सर्वेसर्वा बनेको अवस्थामा मेरो विकासे अभियान अझ सार्थक बन्छ ।’– पार्टीको नगरको २ पटक सचिव र २ पटक अध्यक्षको जिम्मेवारी सम्हालि सकेका उनले भने । उनलाई युवाहरुले आफ्नो समेत प्रतिनिधित्व हुने उम्मेदवारका रुपमा मानेर उनको माग अगाडि सारेका छन् । सँगसँगै केन्द्रसँगको पहुँच तथा विदेशको समेत राजनीतिक अनुभव संगालेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव भइसकेका इन्द्र भण्डारीको नाम समेत चर्चामा आएको छ । दमकमा भ्यु टावर, अग्लो बुद्धप्रतिमा निर्माण लगायतका महत्वपूर्ण योजनाका योजनाकार मानिने भण्डारी दमक नगरलाई समृद्ध नगर बनाउनका लागि दूर दृष्टिकोणको उपयुक्त व्यक्ति भएकाले अन्य पार्टीका केही बौद्धिक वर्गले पनि उनलाई सघाउन सक्ने बुझिएको छ । तर, नगर क्षेत्रमै भण्डारीको निरन्तर राजनीतिक सक्रियता नभएकाले पार्टीबृत्तमा भनें भण्डारीप्रति पल्ला भारी हुने सम्भावना बलियो बनिसकेको देखिदैन । एमालेका प्रमुखका अन्य उम्मेद्वारमा केन्द्रबहादुर प्रसाइँ, होमबहादुर थापा लगायतको पनि नाम आउने गरेको छ । यी मध्ये अन्ततः ओली र खनालकै नाम मथिल्लो कमिटीमा सिफारिस हुने सम्भावना देखिएको छ । धिमाल समुदायको बाक्लै बसोबास रहेको दमकमा धिमाल महिलालाई नेतृत्वमा अवसर दिनु पर्ने आवाज धिमाल समुदायले उठाएका छन् । जस अनुसार उपप्रमुखमा नेत्रकुमारी धिमालको नाम अघि सारेका छन् । धिमालका साथै सुमित्रा भण्डारी, सुमित्रा प्रसाई, लीलादेवी ढुंगेल, निर्मला पाठकको नाम समेत बजारमा चर्चामा छ । दमकको पूर्वीसिमासँग जोडिएको साविक तोपगाछी र लखनपुर मिलेर बनेको कमल गाउँपालिकाका लागि लखनपुरका तर्फबाट कांग्रेसले हुकुमसिंह राईको नाम सर्वसम्मत रुपमा पठाउने निर्णय गरेको छ । साविक तोपगाछीका तर्फबाट पनि नाम आएपछि निर्णय गरेर क्षेत्रीय समितिमा पठाइने उल्लेख छ । त्यसैगरी, वडा नं ६ ( साविक लखनपुर २, ३ र ४ ) मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा कांग्रेसका स्थानीय युवा कार्यकर्ता प्रमोद दाहाललाई उम्मेदवार बनाउने पार्टीको वडा समिति बैठकले निर्णय गरेको हो ।