काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कानुन र भवन आचारसंहिताको प्रभावकारी पालना गरी भवन निर्माणका सन्दर्भमा सम्बद्ध सरकारी निकाय चनाखो रहनुपर्नेमा जोड दिएको छ ।
नेपाल घरजग्गा तथा आवास विकास सङ्घले यहाँ आज आयोजना गरेकोे ‘छैटौँ घरजग्गा मेला–२०७३’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको मुलुक भएकाले यहाँको आवास निर्माण गर्दा मौसम, भूगोल र हावापानीलाई पनि विशेष ख्याल गर्न आग्रह गरे । घरजग्गा तथा आवासको निर्माण गर्दा स्थानीय कच्चापदार्थ तथा प्रविधिको प्रयोगलाई उच्चतम प्रयोगमा ल्याउन उनले सुझाव दिए ।
सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घरजग्गा कारोबार गर्दा व्यावसायिक लाभ मात्र नहेरी देश र समाजको हितका पक्षमा ध्यान दिन आग्रह गर्दै भूकम्प प्रतिरोधी तथा वातावरणीय दृष्टिले स्वस्थ्यकर भवन निर्माणमा प्राथमिकता दिनुपर्ने बताए । उनले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग तथा तराईमा हुलाकी मार्ग नजिक ठूला र नयाँ बस्ती तथा सहरको विकास गर्दा खेती नहुने स्थानलाई छान्नुपर्ने सुझाव दिए । उद्योगमन्त्री नवीन्द्रराज जोशीले घरजग्गा कारोबारलाई उद्योगको मान्यता दिइसकिएको बताउँदै आर्थिक समृद्धिका लागि सबै दल र पक्ष लाग्नुपर्ने औँल्याए। सङ्घका अध्यक्ष तथा सांसद इच्छाराज तमाड हाल घरजग्गा व्यवसायमा करिब रु दुई खर्बभन्दा बढीको लगानी भएकाले यसलाई व्यवस्थित गर्न सरकारले नीति ल्याउनुपर्ने माग गरे । मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीका एक सय २० प्रदर्शनी कक्ष राखिएका छन् ।