विजयपुर / माओबादी केन्द्रका केन्द्रिय सदस्य अइन्द्रबिक्रम बेघाले बाटो निर्माण सम्बन्धि बैठकमा भेला भएको बेला खिचिएको सामुहिक तस्विरलाई माओबादी केन्द्रमा प्रबेश गरेको भनेर प्रचार गरिएको प्रति धरान–४ स्थित शिबजट्टा कालिमाटी टोलका स्थानियवासीले आपत्ती जनाएका छन् । एमालेका स्थानिय नेता तथा कार्यकर्ताले बिज्ञप्ति जारी गरेर माओबादी केन्द्रबाट मेयरको उमेद्धारको रुपमा चर्चा गरिएका बेघाले बैठकमा खिचेको सामुहिक तस्विरलाई आफ्नो फेसबुकमा माओबादी केन्द्रमा प्रबेश गरेको भनि प्रचार गरेको भन्दै यस्ता निकृष्ट कार्य नगर्न अनुरोध गरेका छन् । केन्द्रीय सदस्यजस्तो मान्छेले यस्तो प्रचार गर्नु न्यायसंगत नभएको उनीहरुको भनाई छ । बिज्ञप्तिमा स्थानिय एमाले नेता प्रेमलाल राई,शोभा राई,गणेश राई,शीबलक्ष्मी राई,इन्द्रमाया राई,नरमाया राई लगायतले हस्ताक्षर गरेका छन् । उनीहरुले आफुहरु एमालेको प्रतिबद्ध कार्यकर्ता भएको भन्दै सामुहिक रुपमा गरिएको सामाजिक कार्यलाई राजनीतीकरण सोभनिय नहुने बताएका छन् । यता बेघाले भने साथीहरु माओबादी केन्द्रमा आउनु भएको दावी गरे । आफुसँग आधिकारी माइन्युट भएको र हाम्रो कमिटीमै बसेर काम गरिरहनु भएको दावी गरेका छन् ।