भैरहवा/ नयाँ शक्ति पार्टीले दलीय चुनाव चिन्ह पाउनका लागि दबाब दिने उद्देश्यका साथ सोमबार पनि जारी राखेका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने क्रममा भैरहवामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
धर्नामा बसिरहेका नेता कार्यकर्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्दै गिरफ्तारी गरेको नयाँ शक्तिले जनाएको छ ।
देशैभर पार्टीको चुनाव चिन्ह र निर्वाचनमा दल दर्ताको व्यवस्थाको माग गर्दै ६५ दलले आन्दोलन जारी राखेका छन् ।
त्यसैगरि रुपन्देहीमा सोमबार नयाँ शक्ति पार्टी र नेकपा क्रान्तिकारी माओवादीबीच संयुक्त रुपमा विहान ९ बजेदेखि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको गेट अगाडी धर्ना दिइएको छ ।
सोही क्रममा बिहान कार्यालय समयमा निर्वाचन आयोगका कर्मचारीलाई आन्दोलनकारीले कार्यालयमा प्रवेश गर्न नदिने र प्रहरीले प्रवेश गराउन खोज्ने गर्दा एक आपसमा झडप भएको थियो । झडपका क्रममा नयाँ शक्ति पार्टीका नेता तथा संघीय परिषद् सदस्य गोविन्द केसीको हात भाँचिएको छ भने युवा नेता पंकज राईको पनि हातमा चोट लागेको छ । ४ जना घाइते भएका पार्टीका संघीय परिषद सदस्य बाबुराम पोखरेलले बताए ।
झडप भए लगत्तै धर्नामा बसेका पार्टीका नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ७७ जनालाई प्रहरीले गिरफ्तार गरेको पार्टीका जिल्ला संयोजक देवेन्द्र पाण्डे सागरले बताएका छन् । जसमा ८ जना महिला नेतृहरु रहेको पार्टीले जनाएको छ । आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्दापनि प्रहरीले दादागिरी देखाएको नेकपा क्रान्तिकारी माओवादीका सिद्धार्थनगर इन्चार्ज मोजिब अलीले बताए ।
प्रहरीको कुटाइबाट हात भाँच्चिएका केसी तथा अन्य घाइतेलाई भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले बिमल गिरी, किस्मत बिक, धनिश्वर चौधरी, कमल भुसाल, बाबुराम पोख्रेल, पुरन यादव, पुनम लिगल, ऋषि पाठक, दिलिप बिक बिष्णु पौडेल, नासरिन खान लागायत ३७ जनालाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखेको छ ।
त्यसैगरी जिल्ला संयोजक देवेन्द्र पाण्डे, निर्दोष अली, पंकज राई, भुवन पौडेललगायतका नेताकार्यकर्ताहरुलाई विभिन्न वार्ड प्रहरी कार्यालयमा राखिएको परिषद् सदस्य पोखरेलले बताए ।