बाबुराम पत्नीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउन माग गर्दै अभियान सुरु

धरान /  पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पत्नी हिसिला यमीले नेपाल देशलाई नै खारेज गर्नु पर्ने अभिव्यक्ति दिएपछि सामािजक सन्जालमा सर्वत्र आलोचना सुरु भएको छ । ‘देशलाई खारेज गर’ भन्ने यमीको अभिव्यक्ति विरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु गरेको सासंद् शान्ता चौधरीले जानकारी दिएकी छिन् । उनी सामाजिक सञ्जालमै त्यसको खुलासा गरेकी छिन् ।

उनले त्यो अभियानमा जोडिन सबैलाई अपिल समेत गरेकी छिन् । देशको अस्तित्व समाप्त पार्नुपर्छ भन्दै अभिव्यक्ति दिने हिसिला यमीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउने माग अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अभियानमा चौधरीसँगै कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बा यो अभियानमा सहभागी  छन् । फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियानमा हजारौंले फेसबुक र ट्विटरमा हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्ने माग गरिरहेका छन् । ‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस्, भन्ने जस्ता माग हजारौँले गरेका छन् । ‘एरेस्ट हिसिला यमी’ ह्यासट्यागमा विचार राख्नेहरु पनि हजारौँ भएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा बसेर ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । ‘यो देश खारेज गर भन्नु भनेको देशको अस्तित्व समाप्त पार भनेको हो । प्रहरी नियन्त्रणमा बसेर हिसिलाले नारा लगाएकी छिन् । त्यस्तो नारा लगाउने हिसिलालाई किन रिहा गरियो ? उनलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्छ ।’-कांग्रेस सांसद गुरुङले भने । याे पनि पढनुहाेस् । माफी मागिन हिसिलाले भनिन- बेहाेसीमा गल्ती भयाे ।