काठमाडौं/ नेपालका लागि भारतका नवनियुक्त राजदूत मञ्जीव सिंह पुरीले नेपालका उच्च अधिकारीहरूसँगको भेटघाटका क्रममा नेपाललाई हिन्दूराष्ट्र बनाउने कुराको समर्थन गरेको नेपाल मामिलाका जानकार एक प्राध्यापकले दाबी गरेका छन् ।
शनिबार नेपाल आएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्च अधिकारीहरूसँगको भेटघाटमा पुरीले उक्त कुरा बताएको नेपाल मामिलाका जानकार सुखदेव ९एसडी० मुनिले बिहीवार एक ट्वीटमार्फत खुलासा गरेका छन् ।
ट्वीटमा मुनि लेख्छन्, ‘भारतीय राजदूत पुरीले नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि समर्थन जनाएको भन्ने कुरा आएको छ । यो भारतीय र नेपाली संविधानविरुद्ध छ । यो भाजपाको लाइन हो, भारतको होइन ।’
नेपाल आएलगत्तै भारतीय राजदूत पुरीले पशुपतिनाथको दर्शन गरी नेपालका राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
नेपाल आएको दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका राजदूत पुरीले आइतवार एमाले अध्यक्ष केपी ओली, सोमवार हिन्दू धर्मको वकालत गर्ने राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा र बिहीवार प्रधानमन्त्री प्रचण्डलाई भेटका थिए ।
ती भेटघाटमा नेपाललाई हिन्दूराष्ट्र बनाउने बारे छलफल भएका मुनिको दाबी छ ।