भद्रपुर । उन्नाइस बर्षपछि आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन लागेपछि अहिले नगरस्तरीय दलहरुले मेयर र उपमेयर उठने इच्छुक उम्मेदावारलाई आन्तरिक वहसबाट दवाव दिदै आफ्नो पक्षमा माहोल बनाउन खोजिरहेका छन् । भद्रपुर सदरमुकाम जस्तो नगरमा कस्तो व्यक्तिलाई कुन पार्टीबाट मेयरको उम्मेदवार बनाउने बिषयमा नगरदेखि केन्द्रियस्तरका नेता समेत खुलेर लागिपरेका छन् ।
भद्रपुरमा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, संघिय समाजबादी फोरम नेपालका कार्यकर्ताको बहुल्यता रहेको छ ।
नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लासाथै मुल घर भएको ठाँउ, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनको निर्वाचन क्षेत्र भएकोले अहिले तीनवटै पार्टीमा आन्तरिक कसरत सुरु भएको देखिन्छ । नेपाली काग्रेसबाट मेयरमा क्षेत्रीय सभापति गणेश पोखरेल, उद्योगी चण्डी पराजुली, राजेन्द्र घिमिरे, जेपी शर्मा, नवराज पनेरु सहित ओम सरावागी, मोहन महर्जन, रुद्र भुर्तेलको नाम पनि चर्चामा आएको छ । उपमेयरमा महिलाबाट गोमा भटटराई, लत्ता कार्की, शर्मिला अधिकारी, सिता घिमिरे र शिला तामाङ्गको नाम पनि चर्चामा छ ।
नेकपा एमालेले पूर्व क्षेत्रीय अध्यक्ष र भद्रपुरका पुर्व उपमेयर जिवनकुमार श्रेष्ठलाई मेयरको टिकट दिने पार्टी बिच एक प्रकारको सहमति भइसकेको चर्चा छ । तर, नगर इञ्चार्ज असारु राजवंशीको नाम पनि मेयरमा त्यतीकै चर्चामा छ । उपमेयरमा महिलाबाट चन्दा श्रेष्ठ र कमला थुलुङ्गको नाम चर्चामा आएको छ ।
राप्रपाले नगरमा भरपर्दो उम्मेदवारको खोजी गर्दै उद्योगी तथा समाजसेवी पशुराम अग्रवाललाई टिकट दिएर मेयरको उम्मेदवार बनाउने दाउ खोजिरहेका बेला नेपाली काग्रेसलाई टाउको दुखाई भएको बजारमा चर्चा छ । अग्रवाल नेपाली काग्रेसका साधारण सदस्य हुन । अग्रवाल नेपाली काग्रेस छाडेर राप्रपा जान लागेको समाचार बाहिर आएपछि अग्रवाललाई काँग्रेस कार्यकर्ताले आन्तरिक दवाव दिन थालेको उनी निकट व्यवसायी बताउछन । त्यती मात्र नभएर माओबादी केन्द्रका केन्द्रियस्तरका नेताले समेत अग्रवाललाई माआवादीबाट मेयर उठने एक खालको दवाव दिन थालेपछि अग्रवाल धर्मसकटमा परेका छन् । अग्रवाललाई काग्रेसले मेयरको टिकट नदिने पछि हटने भन्ने, राप्रपा र माओबादीले टिकट दिन तयार भएकोले गर्दा उनी धर्मसंकटमा रहेकोे अहिले बजार व्यापक चर्चाको बिषय बनेको छ । उपमेयरमा राधा कार्की उठने पक्कापक्की भइसकेको छ । माओबादीले क्षेत्रीय अध्यक्ष नरेश सञ्जेललाई मेयरमा उठाउने चर्चा छ भने, उपमेयरमा सीता न्यौपानेलाई उठाउने चर्चा पार्टीमा चलेको एक कार्यकर्ता बताउछन् । त्यस्तै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले अन्य दलको उम्मेदवार घोषणाको पर्खाइमा बसिरहेका छन भने, संघिय समाजबादी फोरम नेपाल सरकारबाट बाहिरएकोले मौन छ ।