काठमाडौं/ स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनाव प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरु चुनावकै विराेधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन् ।

मोर्चाले मंगलबार चुनावको विरोध गर्दै दुई नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्यो । जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराइसकेका दलहरुले चुनावको विरोधमा कार्यालय घेराउ गरेर जनताको आँखामा छारो हालेको दिप्पणी मतदाताले गर्न थालेका छन् ।

निर्वाचन सम्बन्धी बैठकमा भाग लिने, दल दर्ता गराउने, तर निर्वाचनको विरोध गर्ने मोर्चाको कार्यशैली मधेसी जनताले नै मन पराएका छैनन् । मोर्चाको कार्यसैली हेर्दा ढिलोचाँडो चुनावमा सहभागी हुने विश्वास मतदाताको छ । दुई नम्बर प्रदेशअन्तर्गतका बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।