मोरङ/एमालेले आसन्न स्थानीय चुनावमा प्रदेश नम्बर १ का ९० स्थानीय तहमा पार्टीले जित्ने दाबी गरेको छ ।एमालेको प्रदेश कमिटीले चुनावको तयारी तीव्र बनाउँदै उम्मेदवार छनोटका लागि मापदण्ड पनि बनाएको छ ।
एमालेको स्थायी समितिले स्थानीय तह निर्वाचनलाई लक्षित गरी यसअघि नै मापदण्ड बनाइसकेको थियो । तर, मङ्गलबार र बुधबार विराटनगरमा बसेको प्रदेश नम्बर एकको बैठकले मेयर र उपमेयरका लागि तल्लो तहबाट भएको सिफारिसमा उम्मेदवारहरूलाई थप व्यक्तिगत विवरण माग गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश नम्बर १ को समृद्धि र विकासका लागि गुरुयोजना बनाउन केन्द्रीय सचिव एवम् प्रदेश नं १ का संयोजक भीम आचार्यको नेतृत्वमा समिति बनाएको छ ।
समितिमा पूर्व सञ्चारमन्त्री शेरधन राईसहित जगन्नाथ खतिवडा, हिक्मत कार्की, जीवन घिमिरे, डा शिवमाया तुम्बाहाम्फे, मञ्जु चौधरी, रुपनारायण श्रेष्ठ, गुरु बराल, मोती दुगड, मणिराज उपाध्याय, हिराबहादुर थापा, खेम नेपाली र तेज ढकाल सदस्य छन् ।
शेरधन राईको नेतृत्वमा आर्थिक विभाग गठन गरिएको छ । सङ्गठन विभाग प्रमुखमा जगन्नाथ खतिवडा, प्रचार विभाग प्रमुखमा हिक्मत कार्की र स्कुल विभाग प्रमुखमा जीवन घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
बैठकमा एमाले नेताहरूले एक नम्बर प्रदेशका ९० स्थानीय तहमा पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । प्रदेश सदस्य जीवन घिमिरेले तराईका केही क्षेत्रबाहेक एमालेले अन्य सबै स्थानमा चुनाव जित्ने दावी गरे ।
एमालेले हार्ने ठाउँ नै नदेखिएको भन्दै नेता घिमिरले ९० स्थानीय तहमा एमालेले चुनाव जित्ने दाबी गरे ।झापामा १२, मोरङमा ९ देखि १३ वटा र सुनसरीमा ६ देखि ८ वटा स्थानीय तहमा चुनाव जित्नेएमालेको दाबी छ ।
प्रदेश नम्बर एकमा तीनवटा उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाँउपालिका छन् ।