काठमाण्डु/ निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि बिहीबार पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रको उपनयन (व्रतबन्ध) का लागि सपरिवार व्यस्त छन् ।
एक महिना अघिदेखि निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वराष्ट्रपति रामवरण यादवदेखि संवैधानिक अंगका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायतलाई निम्तो दिएका छन् ।
२४ गते होटल सोल्टीमा हुने विशिष्ट अतिथि, अतिथि र विदेशी प्रतिनिधिलाई दुई थरी कार्ड वितरण गरिएको छ । विदेशी नियोगका पाहुनाहरूलाई साँझ साढे ५ बजेदेखि साढे सात बजेसम्म समय तोकिएको छ। १५ वर्ष उमेर पुगेका हृदयेन्द्रको ब्रतबन्धको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले संयुक्त कार्ड वितरण गरेका छन् ।
पूर्वनवयुवराजको हैसियतमा निर्मल निवासले करिब ३ हजारभन्दा बढी पाहुनालाई सोल्टीमा निम्तो दिएको छ । ब्रतबन्धको दिन बिहीबार भने आफन्तलाई मात्र निम्तो दिइएको छ ।