बिर्तामोड / बिर्तामोडमा वर्षाैंदेखि रहेको ट्रक पार्किङको समस्या समाधान गर्न व्यवसायीले सक्रियता देखाएका छन् । ट्रक व्यवसायीले कनकाई नगरपालिकाको घाग्रा खोला नजिकैको जमीन भाडामा लिएर व्यवस्थित पार्किङ शुरु गर्न लागेका हुन् ।

व्यवसायीले सरोकारवाला निकायले पार्किङमा ध्यान नदिएको भन्दै बिर्तामोडको सडक जामलाई न्यूनीकरण गर्न लागिएको बताएका छन् । यसअघि बिर्तामोडका सडक किनारामा ट्रक पार्किङ गरिँदै आएको थियो । यसका कारण सडक जाम हुने, दुर्घटना हुनेजस्ता घटनाहरू भइरहेका थिए । यही चैत २१ गतेदेखि लागू हुने गरी ट्रक पार्किङ गर्न लागिएको पूर्वी नेपाल ट्रक व्यवसायी सङ्घका अध्यक्ष रोहित बुढाथोकीले बताए । यसअघि बिर्तामोडका सडक किनारामा पार्किङ गर्दा सडक जाम भई दुर्घटनासमेत भएका कारण यस्तो व्यवस्था गर्न लागिएको उनले बताए । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, पूर्वी नेपाल मेची ट्रक व्यवसायी सङ्घ, मेची ट्रान्सपोर्ट एशोसिएसनको संयुक्त बैठक बसी बिर्तामोड र सुरुङ्गा बजारका अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने निर्णय गरिएको थियो । ट्रकमात्र व्यवस्थित गर्न सकिएमा बढ्दो शहरीकरणसँगै बिर्तामोडमा हुन थालेको जाम नियन्त्रणमा आउने बुढाथोकीले बताए । यसले शहरको सुन्दरता बढ्ने, दुर्घटना कम हुनेलगायतका फाइदा हुने अपेक्षा गरिएको छ । जथाभावी पार्किङ गर्ने ट्रकलाई चैत २१ गतेदेखि कारवाही गरिने समेत जनाइएको छ ।