विजयपुर/ धरानमा अव्यवस्थित सिटी सफारीका कारण असुरक्षा बढ्न थालेको पाइएको छ । कतिपय सिटी सफारी चालकहरूले सिटी सफारीभित्र घरेलु हतियार र लागूऔषधसमेत बोक्ने गरेको तथ्य ब्लाष्टले फेला पारेको छ ।
ट्राफिक नियमको सामान्य ज्ञानसमेत नभएका कतिपय सिटी सफारी चालकहरूका कारण दिनहुँ जस्तै धरानका विभिन्न चोक तथा सडकहरूमा झगडासमेत हुने गरेको स्थानीयले बताए । केही दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेटमा खटिएका एक सुरक्षागार्डलाई सफारी चालकले सफारीबाट खुकुरी निकाली प्रहार गर्ने प्रयास गरेका थिए ।
प्रतिष्ठान प्रशासनले अस्पताल परिसरभित्र सिटी सफारीका कारण कर्मचारी तथा बिरामीमाथि दुव्र्यवहार हुने गरेको भन्दै बिरामी ल्याउनेबाहेकका सिटी सफारीलाई प्रवेश निषेध गरेको छ । जर्बजस्ती भित्र पस्न खोज्ने धरान–१८ का सफारी चालकले सफारीबाटै खुकुरी निकालेर हान्न खोजेको धरानको इलाका प्रहरी कार्यालयले जनाएको छ । गत माघ १० गते पनि एक सफारी चालकले प्रतिष्ठानका एक सुरक्षागार्डलाई ठक्कर दिएर भाग्दै गर्दा स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।
प्रतिष्ठानको सुरक्षार्थ खटिएको केटीएम सेक्युरिटी सर्भिसेज प्रालिका धरान प्रमुख दिलीप श्रेष्ठले सफारी चालकहरूले प्रतिष्ठानभित्र राखिएको मोटरसाइकलका हेलमेटहरू समेत चोर्ने गरेको आरोप लगाए । सिटी सफारी चालकहरूले प्रतिष्ठानभित्र लागूऔषध प्रयोग गर्ने गरेको समेत पाइएको छ । सिटी सफारी चालकको लापर्वाहीले प्रतिष्ठान वरपरको क्षेत्रमा दिनहुँजसो लफडा हुने गरेको श्रेष्ठ बताउँछन् ।
ट्राफिकलाई पनि तनाव धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सफारीका कारण अहिले धरानका हरेक चोक र गल्लीहरूमा दिनहुँजसो लफडा हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख सइ तुलबहादुर क्षेत्रीले गत बुधबार धरानको भानुचोकमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सिटी सफारीका कारण धरानको ट्राफिक व्यवस्था सम्हाल्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । ‘धरानमा दुई सयमात्र सिटी सफारी हुने हो भने नगरलाई सुन्दर बनाउन सकिन्छ तर अहिले आठ सयभन्दा धेरै सफारी रहेको तथ्याङ्क हामी सँग छ, यसले धरानलाई असुरक्षित बनाउँदै छ ।’ उनले भने । धरानको क्षमता दुई सयमात्र भएको उनको भनाइ छ । सफारी चालकहरूले दिनहुँजस्तो ट्राफिकसँग झगडा गर्ने क्षेत्रीले बताए । ‘सफारीका चालकहरू साँच्चै नै अराजक छन् ।’ सइ क्षेत्रीले भने । धरानका सचेत समुदाय र सम्बन्धित निकायले यसतर्पm ध्यान दिनुपर्ने उनको भनाइ छ । सफारी चालकहरूले दिउँसै मादक पदार्थ सेवन गरेर हिँड्ने गरेको उनले बताए । अखिल नेपाल सिटी सफारी मजदुर सङ्घ, धरानका अध्यक्ष कर्ण गुरुङ सिटी सफारीका चालकहरूमा अराजकता बढेको स्वीकार्छन् । यसको नियन्त्रणका लागि आफु पनि गम्भीर भएको बताए । ‘राम्रा र इमान्दार चालकहरूले सिटी छाडेर टेम्पो कुदाउन थालेका छन् । सफारीमा विकृति बढेको छ ।’ उनले भने ।
पार्किङ शुल्कसमेत तिर्दैनन् धरान उपमहानगरपालिकाले उठाउने सवारी पार्किङ शुल्कसमेत सफारी चालकहरूले तिर्न नमानेको उपमहानगर क्षेत्रमा सवारी पार्किङ शुल्क उठाउने ठेक्का पाएको एचआर प्रालिकी हिमाल राईले बताइन् । सवारी पार्किङ शुल्क उठाउने कर्मचारीलाई दुव्र्यवहार र गाली गर्ने गरेको उनले जनाइन् ।
‘प्रहरीले एक्सन लिन्छ’ धरानस्थित कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी उत्तमकुमार कार्कीले सिटी सफारीका चालकहरूबारे धेरै गुनासाहरू आइरहेको बताउँदै अब प्रहरीले एक्सन लिने जनाए । ‘नियमविपरीतका गतिविधि गर्नेलाई कुनै पनि हालतमा कारवाही हुन्छ ।’एसएसपी कार्कीले भने । यसरी गल्ती गर्ने सफारी चालकलाई कसैको सिफारिस र दवाबमा नछोडिने उनले बताए । ‘कुनै प्रहरीले कारवाही नगरी छाडेको पाएँ भने उसलाई पनि कारवाही हुन्छ, कसैले दवाब दिन्छ भने मकहाँ पठाइदिए हुन्छ ।’ उनले सफारीका समस्या प्रहरीले मात्र समाधान गर्न नसक्ने पनि बताए । ‘सफारी दर्ता गर्ने र लाइसेन्स दिने निकायले यो कुरा ख्याल राख्नुपर्छ’ एसएसपी कार्कीले भने, ‘उपमहानगरपालिकाले पनि पार्किङ स्थल र स्टेशन तोकिदिनुपर्छ ।’