इलाम/ दक्षिणी इलामको माइनगरपालिका स्थित चिसापानीमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि एक नाबालिकाको घटनास्थलमै ज्यान गएको छ । चारजना घाइते भएका छन् ।

दुर्घटनामा माइनगरपालिका स्थित चिसापानीकी १३ वर्षकी सुष्मा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । यस्तै दुर्घटनामा परी चिसापानीकै ३४ वर्षकी रेखा लावती, ६५ वर्षकी बिमला लावती, माइनगरपालिका-३ की ६० वर्षकी सिता लावती र झापा बिर्तामोड नगरपालिका-७ की २२ वर्षकी सरिता गुरुङ घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि झापातर्फ लगिएको छ । झापाको बिर्तामोडबाट इलामको माइनगरपालिका स्थित चिसापानीतर्फ आउँदै मे १ ख ७१७ नम्बरको यात्रुबाहक बस शनिबार बेलुका साढे पाँच बजेतिर माइनगरपालिका स्थित सोरालि खोल्सिमा पल्टिएको हो । घटनापछि चालक फरार भएकाले खोजि गरिरहेको प्रहरीले बताएको छ ।