तरहरा/ नयाँ संविधानले गरेको व्यवस्थाअनुसार नेपाल सरकारले स्थानीय निकाय खारेज गरेर स्थानीय तहको शासन सञ्चालन शुरु गरेसँगै जनतामा उत्साह देखिएको छ । वडा कार्यालयहरु आप्mनै घर आँगनमा खुल्ने र त्यहींबाट सेवा पाउने भएपछि जनता दङ्ग छन् । स्थानीय तह अन्तर्गत सम्बन्धित वडा कार्यालयहरुबाटै सेवा पाउने भएपछि स्थानीयबासी उत्साहित भएका हुन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशका सबै तहमा स्थानीय तहको कार्यान्वयनका लागि परिपत्र जारी गरेको छ । जनताको अधिकार जनताकै घर दैलोमा पुग्ने गरी सेवा दिन सरकारले सबै स्थानीय तहका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरुलाई निर्देशन दिइसकेपछि अहिले गाउँका जनतामा भने उत्साह र उमङ्ग थपिएको गाउँका सेवाग्राहीहरु बताउँछन् । इटहरी उपमहानगरपालिकामा कामका लागि आउँदा धेरै दुःख पाएको बताउँदै इटहरी–२ की कमलादेवी धमला वडा कार्यालयबाटै काम गर्ने पाउने भएपछि हौसिएकी छिन् । अहिले नगरबासीले गर्नुपर्ने सिफारिस, एकीकृत सम्पत्ति कर तिर्न, चार किल्ला प्रमाणित गर्ने जस्ता अन्य धेरै कामका लागि उपमहानगरपालिका जानु पर्दैन भनेको सुनेर आपूm खुशी भएको उनको भनाइ थियो । इटहरी उपमहानगरपालिका पुग्न इटहरीका सर्वसाधारणलाई त्यति पायक नपरेको कारण गाउँबाटै काम हुने भएपछि उनीहरुमा खुशी छाएको हो । इटहरी–१८ बडहराका रमेश चौधरीले पनि सानोतिनो कामका लागि पनि इटहरी उपमहानगरापालिका धाउनुपर्ने बाध्यता हटेकोमा आपूmसहित गाउँले खुशी भएको बताए । काम गर्न सहज हुने मात्र नभएर विकास निर्माणले पनि प्राथमिकता पाउने नगरबासीको अपेक्षा छ । वडाबाटै जनताले सेवा पाएपछि विकास निर्माण पनि गरौं भन्ने भावना विकास हुने इटहरी–१० की उजुरु चौधरीको भनाइ छ । आप्mनो गाउँ विकासमा समेत फाइदा पुग्छ होला भन्ने लागेको चौधरीले भनिन् । यसअघि प्रदान गर्दै आएका सेवाहरुसँगै थपिएका सबै सेवा प्रदान गर्न थालेको इटहरी वडा नम्बर ११, १२, र १३ का वडा सचिव बालकुमार पोखरेलले बताए । वडा कार्यालयबाट सेवा लिन पाउने भएपछि स्थानीयबासी उत्साहित हुँदै कामका लागि आउने गरेको इटहरी–२० का वडा सचिव सञ्जीवकुमार खड्काले बताए । योसँगै स्थानीय तहको निर्वाचनपछि वडा अध्यक्ष तथा प्रतिनिधिहरु आएपछि अझ सजिलो हुने नगरबासीको अपेक्षा रहेको खड्काको भनाइ छ । माओवादी केन्द्रका इटहरी नगर प्रमुख सागर सुवेदीले सिंहदरबारको अधिकार स्थानीय निकायमा ल्याएको यो अवसरलाई सदुपयोग गर्न पार्टी पङ्क्ति जोडदार लाग्ने बताए । उनले भने, ‘टाढा भएका हक–अधिकारलाई जनताको घर दैलोमा ल्याउने काम भएको छ ।’ स्थानीय तहको पहिलो निर्वाचनमा एकजुट भएर लाग्नु पर्ने उनको भनाइ छ । यता इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले भने स्थानीय तहको व्यवस्थासंँगै उपमहानगरपालिकाले पनि यसको कार्यान्वयन शुरु गरिसकेको बताए । उनका अनुसार स्थानीय तहको व्यवस्थासँगै यसअघिका २६ वटा वडालाई समायोजन गर्दै २० वटा वडा बनाइएको छ । सबै वडाका लागि वडा सचिवको चयन गरेको बताउँदै वडालाई करीब ३७ वटा थप अधिकार प्रदान गरेर सचिवहरुलाई कार्यस्थलमा खटाइएको उनले बताए । आप्mनै घर आँगनबाट सेवा पाउने देखि विकास निर्माणले पनि प्राथमिकता पाउने उनीहरुको आशा छ ।