२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन इटहरी नगरपालिकाका मेयर सर्वध्वज साँवालाई नेकपा एमालले उमेद्वार बनाउँदा कार्यकर्तालाई सोधिएको थियो( तपाईको नजरमा कस्लाई मेयर बनाउँदा हुन्छ ? आन्तिरक रुपमा सर्वेक्षण गरिए पछि कस्को पक्षमा कति कार्यकर्ता देखिए सार्वजनिक गरिएन तर एक नम्वरमा रुचाइएका सर्वध्वज साँवालाई पार्टीले उमेद्वार बनायो । उनी विजयी पनि भए । त्यस बेला प्रमोद श्रेष्ठ र रामप्रसाद चौलागाईको नाम आएको उनले सुनाए । तर कुनै पनि पदमा टीकट पाउन त्यस बेला त्यति प्रतिष्पर्धा नभएको साँवाले सम्झीए ।
तत्कालिन अवस्थामा इटहरी नगरपालिकामा नेपाली काँग्रेसका सभापति विरेन्द्र कार्कीले पार्टीबाट मेयरको उमेद्वारी पाउनु पनि रस्कासस्सी गर्नु परेन । आन्तरिक सामान्य छलफलमै उनले मयेरको उमेद्वार भए । यता इटहरीमा त्यस बेला बलियो देखिएको राप्रपाबाट रामकुमार सुब्बा पनि मेयरको लगभग निर्विकल्प उमेद्वार थिए । ‘त्यो बेलाको इटहरीको राजनीति र अहिलेको राजनीतिमा फरक छ’ काँग्रेसबाट मेयरका उमेद्वार विरेन्द्र कार्कीले भने ‘१९ वर्ष पछि भएको स्थानीय निकायको निर्वाचनको अन्तरलेनै फरक बनाउँछ भने इटहरीमा थपिएका नयाँ वस्तीले थप प्रभाव पार्नेछ ।’ आन्तरिक पार्टीकै कुरा गर्दा कुनै पनि पार्टीमा सबै ठाउँबाट सिफारिस ल्याउनु पर्ने अवस्था थिएन । इटहरी गाउँ विकास समिति हुँदा र नगरको पहिलो सभापति भएकोले पनि आफूलाई राम्रै सहयोग पाएको उनको भनाई छ । कार्यकर्तासँग बलियो भएको व्यक्तीले टिकट पाए नयाँ परिणाम आउने उनले बताए ।
यता त्यस बेलाका मेयरका उमेद्वार रामकुमार सुब्बा इटहरीका अभिभावकमै गनिन्छन् । उनी पछिल्लो समय नेपाल सरकारको मन्त्री पनि भए । तर, उनको अनुभवमा पनि स्थानीय निकायको हुन लागेको निर्वाचनको अनुभव फरकनै हुनेछ । ‘अहिले त त्यति निर्वाचनको माहोल बनिसकेको छैन’ लामो समय इटहरीको गाउँ पञ्चायतको जिम्मेवारी सम्हालेका सुब्बाले ब्लाष्टसँग भने ‘पछिल्लो समय कुनै पनि पार्टीका नेताले ठ्याक्कै जनताको मन जित्ने गरी काम गर्न सकेनौं ।’ सबै ठाउँमा हुन लागेको स्थानीय निकायको निर्वाचन समयको अन्तरालले फरक अनुभव हुने भए पनि इटहरीमा भने अत्यधिक जनसंख्या वृद्धी र विभिन्न विचार र समुदायका मानिसको वाहुल्य बढेकोले कसैको पकपडमा निर्वाचन परिणाम नरहेको राजनीतिक विश्लेषकको अनुमान छ ।
नेकपा माओवादी केन्द्रका लागि भने स्थानीय निकायको निर्वाचन नयाँ अनुभव हो । केन्द्रका इटहरी नगर प्रमुख सागर सुवेदीले भने ‘सिंहदरबारको अधिकार स्थानीय निकायमा ल्याएको यो अवसरलाई सदुपयोग गर्न पार्टी पङक्ती जोडदार लाग्ने छ ।’ स्थानीयको निर्वाचन जनआन्दोलन र शसस्त्र युद्धको उपलब्धी समेत भएको उनको भनाई छ । उनले भने ‘टाढा भएका हक अधिकारलाई जनताको घर दैलोमा ल्याउने काम भएको छ ।’ स्थानीय तहको पहिलो निर्वाचनमा एक जुट भएर लाग्ने तयारीमा छौं ।’ अन्य पार्टीका नेताहरुको पनि यो भन्दा फरक अनुभव छैन ।
१९ वर्ष पछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा परिस्थिती फेरिएको छ । कुनै पनि पार्टीमा पनि समुहगत राजनीतिले उपमहानगरपालिका भइसकेको इटहरीको मेयरको उमद्वार को होला ? अड्कल गरिए पनि यसै भन्न सकिने अवस्था छैन । प्रमुख पार्टीमा एकै व्यक्तीको मात्रै नाम लिने अवस्था पनि छैन । यहाँका प्रमुख राजनीतिक दलका नेताहरुले उमेद्वारको विषयमा जति रस्साकस्सी गरिरहेका छन् सञ्चारकर्मीले सोधेको प्रश्नमा जिम्वेवार नेतृत्व सहज उत्तर दिन्छन्( ‘हामीमा समस्या छैन, समय आए पछि टुङ्गो भइहाल्छ नि ।’ तर पार्टी खेमा र लामो समय पार्टीमा काम गरेका कारण उमेद्वारीमा आन्तरिक प्रतिष्पर्धा निकै बलियो हुने अनुमान गरिएको छ ।
त्यो भन्दा पनि नयाँ विषय इटहरीको लागि के भने यो दुई दशकको अवधिमा यहाँका जनसंख्या ह्वात्तै बढेको छ । तर यतिवेला स्वतन्त्र मतदाता र कार्यकर्ता दुई कित्तामा देखिएका छन् । कार्यकर्ता भन्दा स्वतन्त्र मतदाताको निर्णायक भोट हुने अनुमानले राजनीतिक दलका आँखा स्वतन्त्र मतदातामा जानु अस्वभाविक होइन । ‘कुनै पनि राजनीतिक दलका नेतालाई त्यति वेला टिकट पाउन गाह्रो थिएन’ ७ हजार ३ सय मद ल्याएर मेयर बनेका साँवाले भने ‘अहिले त मेयरले घरदैलोमा पुग्ने गरी कार्यक्रमनै गर्न पनि मुस्किल छ ।’ अहिले इटहरीको मेयरको लागि २० हजार मत कटाउनु पर्ने पार्टी पक्तीको अड्कल छ । अहिले मतदाता संख्या र नेता बढ्दा ठूला पार्टीका नेतालाई उमेद्वार हुन जति चुनौति छ विकासे अड्डाको रुपमा रहेको स्थानीय निकाय अधिकार सम्पन्न भए पछिको अवसर लिने पखाईमा पनि दलका नेताहरु मेहेनत गरिरहेका छन् । स्थानीय निकायलाई अधिकारहरु धेरै दिइएको छ । साधन श्रोत पनि धेरै प्रयोग गर्न पाइने भयो । पहिलाका कार्यकर्ताहरु अत्यन्त इमानदार रहेको र अहिले मतदाता र कार्यकर्ता दुवै समेट्नु पर्ने हुँदा चुनावी मेसो मिलाउन सबैलाई गाह्रो हुने साँवाको अड्कल छ ।
अहिलेको मतदाताको सोचाई पनि धेरै फरक छ । कार्यकर्ताले भोट हाल्छन् नै । पार्टी बाहिरका मतदाताले व्यक्ती हेर्ने हुनाले पनि फरक पन आउने उनले बताए । इटहरीमा यति वेला चार वटा गाविस थपिएका छन् । २० वार्डमा विभाजन गरिएको नगरमा वार्ड अध्यक्षनै पहिलाको मेयर समान हुने राजनीतिक दलको बुझाई छ । वैशाख ३१ मा हुने निर्वाचनको वैशाख १६ पछि चुनावको निर्वाचन आयोगको तालिका अनुसार सरगर्मी बढ्ने छ । राजनीतिक स्थिरता भएको भए अहिले चार वटा मेयरले काम गरिसक्नु प¥थ्यो । लामो समय पछि भएको निर्वाचनमा लामो समय पार्टीमा काम गरेको व्यक्तीले इच्छा राख्नु सामान्य विषय लिन्छन् यहाँका राजनीतिक दलका नेताहरु ।