इलाम/ सरकारले लागू गरेका् पहिलो चरणको तीन जिल्ला इलाम,कैलाली र बाग्लुङ्गमा सुरु गरेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा धेरै बीमा दर्ता भएको जिल्ला इलाम रहेको छ ।

इलाम र बाग्लुङ्ग जिल्लामा २०७३ असार १५ गते दर्ता शुरु गरिएको थियो जसमा सोही समयमा दर्ता गर्ने सेवाग्राहीहरुले भदौ १ बाट सेवा पाएका थिए । इलाम,कैलाली र बाग्लुङ्गमध्ये हालसम्म सबैभन्दा बढी स्वास्थ्य बीमा गराउनेको संख्या इलाम जिल्लामा रहेको तथ्याङ्कमा उल्लेख छ ।

सुरुका तीन जिल्लामध्ये इलाम जिल्लामा नौ हजार पााचँ सय ९२ जनाले स्वास्थ्य बीमा गरिसकेका छन् । त्यस्तै कैलालीमा नौ हजार दुई सय ७२ रहेको छ भने बाग्लुङ्गमा सात हजार दुई सय २२ जनाले स्वाथ्य बीमा गरिसकेका छन् । यस्तै सरकारले तीन जिल्लाबाट सुरु गरेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम हालसम्म सुरुका तीन जिल्ला सहित कास्की,पाल्पा,बैतडी,आछम,म्याग्दी,बाँके, एघार जिल्लामा कार्यक्रम सुरु भईसकेको छ ।

झापामा भने स्थानीय निकायको निर्वाचन पश्चात कार्यक्रम सुरु हुनेछ । सरकारले ७५ वटै जिल्लामा तीन वर्ष भित्रमा सामाजिक स्वास्थ्य बीमा पुर्याउने उद्येश्य राखेर तीन जिल्लाबाट कार्यक्रम सुरु गरेको हो ।

स्वास्थ्य बीमा सेवा बिगत लामो समयको प्रयास पश्चात सुरु भएको सामााजिक स्वास्थ्य सुरक्षा कार्यक्रम २०७२ चैत्र २५गतेदेखि कैलाली जिल्लाबाट दर्ता प्रकृया शुरु भई २०७३ जेष्ठ १ गतेबाट स्वास्थ्य बीमा सेवा प्रदान शुरु भएको थियो ।

नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सहज तथा प्रभावकारी रुपमा प्रदान गर्ने उद्देश्यले ग्रामीण ,पीछडिएका क्षेत्रमा रहेका नेपालीलाई स्वास्थ्य सेवामा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम सुरुवात भएको हो । आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

बीमा कार्यक्रममा सदस्य हुन पाँच जनासम्मको परिवारले बार्षिक २५ सय रुपैयाँ प्रिमियम बुझाउने परिवारका सदस्यहरुलाई ५० हजार रुपैंयासम्मको सेवा सुविधा तोकिएको छ । जसमा बीमा गर्नेले तोकिएको स्वास्थ्य संस्था र अस्पतालबाट सेवा सुविधा पाउने छन् ।

त्यस्तै ५ भन्दा बढी सदस्य भएमा प्रति व्यक्ति चार सय २५ का दरले थप गर्दै जानुपर्ने छ । जसको अधिकतम् सुविधा एक लाखभन्दा बढी हुने छैन । उक्त सेवा एक वर्षमा पुनः योगदान रकम बुझाई नविकरण गर्नु पर्नेछ ।

इलाम जिल्लामा सेवा प्रदान गर्ने चार वटा प्राथमिक स्वास्थ्य केन्द्रहरु पशुपतिनगर, फिक्कल, मंगलबारे र प्याङ्ग रहेका छन् । तोकिएको सबै प्राथमिक स्वास्थ्य केन्द्रमा डाकटरहरुको समस्या नभएकाले ग्रामिण क्षेत्रका जनताले सोही क्षेत्रबाट स्वास्थ्य सेवा लिईरहेको स्वास्थ्य बीमा दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिए ।

इलाम जिल्लामा बीमा गराउने कुल संख्या नौ हजार पाचँ सय ९२ मध्ये कुल पुरुषको संख्या चार हजार छ सय २७ रहेको छ भने चार हजार नौ सय ६५ जना महिलाले स्वास्थ्य बीमा गरेका छन् । जसमध्ये दुई हजार पाँच सय ८७ जनाले सेवा पाइसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितीले जनाएका छ ।

जिल्लाको माईजोगमाई गाउँपालिका ६ साबिकको प्याङ्ग गाविसमा चार सय ६९ जनाले स्वास्थ्य बीमा गरेका छन् त्यस्तै साविकको बरबोटे गाविसमा तीन सय ४३ जनाले बीमा गराएका छन् । यस्तै सूर्योदय नगरपालिका साविकको फिक्कल गाविसमा सात सय ३९ जनाले स्वास्थ्य बीमा गराईसकेको अधिकारीले बताए ।

इलाम जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएतापनि सात वटा गाविसहरुमा दर्तासहयोगीको अभावले गर्दा दर्ता गर्न सकिएको छैन स्थानीय निकायको संरचना अनुसार नयाँ निर्णय हुन नसकेकाले काम गर्न कठिनाई भएको उनको भनाई छ ।

सुरुमा स्वास्थ्य बीमा कार्यक्रम मार्फत तोकिएका अस्पतालहरुबाट एक सय २० प्रकारका औषधिबाट सेवा सुरु गरिएकोमा हाल बढाएर चार सय ५९ प्रकारका औषधिहरु पाइने छ । त्यस्तै औषधि लिदाँ १५ प्रतिशत स्वभुक्तानी गर्नुपर्नेमा हाल स्वास्थ्य बीमा प्याकेज मार्फत नै उपलब्ध गराउन थालिएको स्वास्थ्य बीमा दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिए ।