पथरी/ पूर्व(पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी जंगलमा लामोदुरीको यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बुधबार साँझ ७ बजे पूर्वबाट बुटवल फर्त छुटेको ना ५ ख ५३८७ नम्बरको यात्रु बस र मे ४ प ८५११ नम्बरको मोटरसाइकल ठोक्कीदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक लेटाङका २० बर्षका तिलक लिम्बू र मोटर साइकलमा सवार देबेन्द्र लिम्बू र बसमा सवार झापाका पुरुषोत्तम सुवेदीको मृत्यु भएको छ । पुरुषोतमको बसको टिकटको आधारमा पहिचान गरिएको हो ।
बाँकी एक महिलाको पहिचान हुन सकेको छैनन् । २१ जना घाइतेमध्ये केरौनका शंकर विक गम्भीर घाइते छन्, उनलाई थप उपचारको लागी विराटनगरस्थित न्यूरो हस्पिटल लगिएको छ ।
अन्य चारजना गम्भिर घाइतेलाई उपचारको लागी शिलगुढी लगिएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए । अन्य घाइते हुनेमा इलाम सूर्योदयकी बबिता विक, झापाका रोशन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरीगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरीगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका ईश्वर अली र पथरी मोरङका रामकुमार राई रहेका छन् ।
काकरभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको बस मोटरसाइकलमा ठक्कर खाएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।