काँकडभिट्टा/ झापाको कुमरखोद–६ स्थित जुडो प्राथमिक विद्यालयको दुई कोठे पक्की भवनको शिलान्यास भएको छ । जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमूना सो विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले भवनको शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दै प्रमुख अतिथि विष्टले सो विद्यालयको भौतिक संरचना स्तरोन्नति र खेल पूर्वाधार विकासका लागि राखेपमार्फत् ५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने बचन दिएको जुडोका राष्ट्रिय रेफ्री गङ्गा खड्काले जानकारी दिए । सो अवसरमा विशिष्ट अतिथि एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले उक्त विद्यालयमा पढाइ हुने विषयमध्ये जुडोलाई समेत समावेश गराएर मुलुकमै खेल क्षेत्रको पहिचान स्थापित गरेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला शिक्षा कार्यालय झापाबाट प्राप्त १६ लाख रुपैयाँ बजेटमा निर्माण कार्य शुरु भएको उक्त भवन शिलान्यास कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकी, झापा जुडो सङ्घका अध्यक्ष प्रा. डा. पृथ्वीविक्रम राई, नेकपा एमाले कुमरखोद गाउँ कमिटीका अध्यक्ष माधव पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृत्यराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्थानीय बुद्धिजीवी रामबहादुर खड्का र सञ्चालन विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गणेशले गरेका थिए ।
































