धरान/प्रहरीको संलग्नतामा विष्णुपादुका क्षेत्रबाट चिरानी काठ तस्करी हुने गरेको पाइएको छ । अस्थायी प्रहरी पोष्टका प्रमुखसहितको संलग्नतामा सखुवा जातको काठ तस्करी हुदै गर्दा स्थानीय वन उपभोक्ता समूहका पदाधिकारीहरुले आइतबार मध्यराति पक्राउ गरेपछि उक्त खुलासा भएको हो । स्थानीय भवानी सामुदायिक वन क्षेत्रबाट काठ तस्करी हुने गरेको थियो । तस्करीमा संलग्न चारजनालाई वनका पदाधिकारीहरुले पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको छ । भवानी सामुदायिक वनका कोषाध्यक्ष राईबहादुर राईले २० क्युविक सखुवा जातको काठसहित चारजनालाई पक्राउ गरेर जिल्ला वन कार्यालयलाई बुझाएका छौं । उनका अनुसार विष्णुपादुका अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी हवल्दार खेमबहादर कुवर र प्रहरी जवान पूर्ण लिम्बू पनि संलग्न छन् । त्यस्तै धरान–१८ का विवेक लिम्बूले विष्णुपादुका–८ भवानी थानबाट ल्याउदै गर्दा करिव रातको साढे ११ बजेतिर पक्राउ गरेको उनले बताए । पक्राउ गरेको विषयमा जिल्ला वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले पनि पुष्टी गरे । तर, आफूलाई जानकारी मात्रै प्राप्त भएको र पक्राउ पर्नेको नाम र गाडी नम्बर आफूले सोधपुछको क्रममा रहेको बताए । उनले त्यसमा दुईजना प्रहरीहरु पनि पक्राउ परेको र उनीहरुको पनि संलग्नता रहेको भन्ने सुन्नमा आएकाले घटनामा दोषी देखिएमा वन ऐन अन्तर्गत कारबाही हुने बताए ।