काठमाडौंँ/ आगामी २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको शनिबारबाट परीक्षण छपाइ सुरु भएको छ । परीक्षणका रूपमा छापिएको मतपत्रको कागज सेतो र मसी नीलो छ ।

निर्वाचन आयोगले मतपत्रको छपाइ कार्य चैत ५ बाट सुरु हुने जनाएको भए पनि मतपत्रको डिजाइन गर्ने कार्यमा केही ढिलाइ हुँदा छपाइ कार्यमा पनि त्यसको प्रभाव परेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘‘आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवसहित आयुक्तहरू शनिबार जनक शिक्षा सामग्री केन्द्र जानुभई नमुना मतपत्र छपाइको अवलोकन गरे । सम्भवतः आइतबार साँझबाट औपचारिक छपाइ सुरु हुनसक्छ । ’’

आइतबार दिनभरिमा आयोगले आफ्नो प्रक्रियालाई पूरा गरेमा आइतबार साँझबाट निरन्तर रूपमा छपाइ सुुरु हुनेछ । मतपत्रको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।

आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ गर्ने तयारी गरेको जानकारी दिएको छ । मतदाता नामावली प्रशोधनको कार्य भइरहेकाले औपचारिक मतदाताको सङ्ख्या आउन बाँकी छ ।

आयोगले छ आकार (साइज)का र ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छपाइ गर्ने तयारी गरेको जानकारी पनि प्रवक्ता शर्माले दिए। आयोगले निर्वाचन प्रयोजनका लागि केन्द्रमा तथा ७५ वटै जिल्लामा दलहरूको दर्ता गरी निर्वाचन व्यवस्थापनका लागि सहज बनाएको छ ।

काठमाडाैँ जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ वटा दल दर्ता भएका छन् । जिल्लामा दर्ता नभएका दलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्नेछन् ।

त्यसैगरी हाल व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले मात्रै २०७० सालको संविधानसभा निर्वाचनका लिएको निर्वाचन चिह्न पाउनेछन् भने अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन चिह्न पाउनेछन् । आयोगमा हाल ११३ वटा राजनीतिक दल दर्ता भएका छन् ।