काठमाडौं/प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुवाई थालिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा पाँच सदस्यीय वृहद पूर्ण इजलास गठन गर्दै सुनुवाई सुरु गरेको हो । कार्कीको नेतृत्वमा न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हालाई सदस्य रहेका छन् । गत बिहीबार मुद्दा सयुक्त इजलासमा पेश भए पनि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यसअघि अन्तरिम जारी गर्ने न्यायाधीशसमेतको इजलासमा पेसी तोकिएको भन्दै सुनुवाई रोक्न माग गरेका थिए । महान्यायाधिवक्ता श्रेष्ठको माग अनुसार पेसी आजका लागि सारिएको थियो । तर, आज पनि अन्तरिम आदेश जारी गर्नेमध्येका एक न्यायाधीश हरिकृष्ण कार्की इजलास सदस्य तोकिएका छन् । फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई आइजीमा सिफारिस गरेको थियो । सिफारिसको दुई घन्टा बित्न नपाउँदै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अधिवक्ता कपिलदेव ढकालको रिटमा सुनुवाइ गर्दै निर्णय कार्यान्वयन रोकेको थियो । त्यसै दिन आइजीका अर्का प्रतिस्पर्धी डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए । अन्तिम सुनुवाइले यसअघि फागुन १८ गते जारी अन्तरिम आदेश खारेज गरे चन्दको सिफारिस कार्यान्वनको बाटो खुल्नेछ ।