काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन पारित नभएपनि चुनाव अब नरोकिने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने, ‘चुनावको विकल्प छैन्, जनताले चुनाव चाहेका छन्, मुलुक चुनावमय भैसकेको छ, सरकारले चुनाव सम्पन्न गर्न युद्धस्तरमा काम गरिरहेको छ ।’ उनले मधेशी मोर्चासँग कुरा नमिल्दा पनि अब चुनाव नरोकिने स्पष्ट पारे । उनले भने, ‘मोर्चाका साथीहरुसँग हामी निरन्तर सम्वादमै छौं, वार्ता तथा छलफलबाट पनि कुनै सहमति निस्किएन भनेपनि हामी अब चुनाव रोक्ने पक्षमा छैनौं, चुनाव हुन्छ ।’

नेता खनालले स्थानीय तह कार्यान्वयनको काम सुरु भैरहेकोले जनतामा अहिले नयाँ उत्साह देखिएको बताउँदै भने, ‘जनतामा अहिले नयाँ उत्साह थपिएको छ, थोरै भएपनि सरकारमा जनतासम्म आइपुगेको महशुस भएको छ ।’ उनले स्थानीय तहको कार्यान्वयनसँगै पहिलो पटक जनतामा विकास पुगेको अनुभुत जनताहरुलाई भैरहेको जिकिर गरे ।

उनले सरकार गठन भएसँगै निरन्तर मधेशी, जनजाति, थारुहरु लगायतका माग पूरा गराउन छलफल तथा वार्तामा बसिरहेकोले अब चुनाव नरोकिने स्पष्ट पारे । उनले भने, ‘चुनाव एक महिना रोकेर वार्ता गरौंला रे, तर सहमति भएन भने के हुन्छ रु त्यसैले चुनाव रोकिँदैन्, तर वार्ता जारी रहन्छ ।’

उनले आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले सरकार त्यही अनुरुप गम्भिर भएर निर्वाचनको तयारीमा जुटेको बताए । उनले भने, ‘अदालत बोलिसकेको छ, माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्छ, हामी चुनाव नगरी अघि बढ्न सक्दैनौं, चुनावलाई अघि बढाउनैपर्छ, यो सरकारको प्रमुख प्राथमिकता हो ।’ यद्धपी उनले संविधान संशोधनमार्फत मधेशी मोर्चाको माग सम्बोधन तथा समस्याको निकासको लागि सरकारले अन्तिम प्रयत्न गर्ने जिकिर गरे ।

उनले भने, ‘अन्तिम प्रयत्न गर्दापनि सहमति भएन भने हामी चुनाव रोक्दैनौं, जहाँ जनताले चुनावको माँग गरेका छन्, त्यहाँ चुनाव हुन्छ ।’ उनले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले गम्भिर रुपमा वार्ता तथा छलफल गरिरहेको बताए ।

उनले साना दलका विरोधका नाममा सरकारले चुनाव नरोक्ने जिकिर गरे । उनले भने, ‘उनीहरु चुनाव विथोल्नेगरि एक्सनमा आउँछन् भने सरकार पनि एक्सनमा आउँछ ।’