काठमाडौं/ स्थानीय तहको चुनावको लागि मतपत्रको छपाइ शनिबारबाट सुरु हुने भएको छ ।
१ करोड ६० लाखप्रति छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारबाट मतपत्र छाप्न सुरु गर्ने जनाएको छ।
मतपत्र छपाइका लागि चाहिने कागज, मसी, कर्मचारी र सुरक्षाको प्रबन्ध भइसकेको केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले जानकारी दिए ।
मतपत्र छपाइ अवधिभर कर्णेलको नेतृत्वमा रहेको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तहको चुनावको लागि १ करोड ६० लाख प्रति मतपत्र छाप्ने तयारी भएको बताए ।
एक करोड ४० लाख जति मतदाता हुने र त्यसमा १५ प्रतिशत थप गरेर १ करोड ६० लाख प्रति छाप्नुपर्ने आयोगका प्रवक्ता शर्माले बताए ।
सरकारले घोषणा गरेर कार्यान्वयनमा ल्याएको ७४४ स्थानीय तहमा बैशाख ३१ गते चुनाव हुने भएको हो ।
एक करोड ६० लाखप्रति मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज चाहिने र उक्त संख्याको कागज आफूसँग स्टकमा रहेकाले कागजका लागि चिन्ता नभएको केन्द्रका निर्देशक पोख्रेलले बताए ।
यसपटक आधा फिटदेखि तीन फिटसम्म लम्बाइ हुने विभिन्न प्रकारका मतपत्र चाहिने छ। दलहरूको संख्याका आधारमा जिल्लाहरूलाई अहिले ६ किसिमका मतपत्र छाप्ने तयरी भइरहेको आयोगका प्रवक्ता शर्माले बताए ।
सबैभन्दा कम दल दर्ता भएको मनाङका लागि सबैभन्दा छोटो मतपत्र छापिने छ भने सबैभन्दा धेरै दल दर्ता भएको काठमाडौंका लागि सबैभन्दा लामो मतपत्र बन्ने छ ।
एउटा समूहमा परेका जिल्लामा एकै प्रकारको मतपत्र पठाउने आयोगको तयारी छ। त्यसैले, यसपालिको चुनावमा कतिपय गाउँपालिका वा नगरपालिकामा उम्मेदवार नभए पनि चुनाव चिन्ह हुनसक्ने आयोगका प्रवक्ता शर्मा बताउँछन् ।
दलको संख्याका आधारमा जिल्लाहरूको समूह बनाएर मतपत्र पठाउने हुँदा केही स्थानमा उम्मेदवार नभए पनि मतपत्रमा चुनाव चिन्ह भने हुनसक्ने उनले बताए ।