काठमाडौं /  वैशाख ३१ गते हुने स्थानीय चुनावको लागि अर्को हप्तादेखि मतपत्र छपाईको काम सुरु हुने भएको छ । शनिबारदेखि नै छाप्ने योजना भएपनि आवश्यक तयारी नपुगेकाले आइतबार या सोमबारदेखि मतपत्र छपाईको काम सुरु हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ऐनले तोकेको मर्यादाक्रम अनुसार मतपत्रमा चुनाव चिन्ह राखिनेछ । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलको मर्यादाक्रम तय गरिएको छ । यस अनुसार मतपत्रमा चुनाव चिन्ह राख्दा सुरुमा कांग्रेसको रुख, दोस्रोमा एमालेको सूर्य, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राप्रपाको गाई हुनेछ ।

यही क्रममा ३१ दलको चुनाव चिन्ह राखिनेछ । दलहरुको सकिएपछि स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह राखिने आयोगले जनाएको छ । यस्तै आयोगले मतदाता नामावली टुंगो लगाएपछि परिचयपत्र छाप्ने भएको छ । यही महिनाभित्र मतदाता परिचयपत्र छपाईको काम सक्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो । मतदातालाई अध्याधुनिक परिचयपत्र वितरण गर्ने आयोगको तयारी छ ।

यस्तै आयोगले आउँदो १० गते मतदान केन्द्रको टुंगो लगाउने तयारी गरेको छ । २० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । स्थानीय तहको चुनावमा झण्डै एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहनेछन् ।