पथरी/ मोरङको सबैभन्दा बढी शेयर सदस्य रहेको पथरीशनिश्चरेस्थित मनकामना सहकारी संस्थाको एकसाताको सहकारी अवलोकन भ्रमण आजबाट सुरु भएको छ ।

संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्य गरी ६० जनाको टोलीले कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङसम्मको सहकारी अवलोकन भ्रमण गर्नेछ । सो अवसरमा ती क्षेत्रका ऐतिहासिक, पर्यटकीय र धार्मिक महत्वका क्षेत्रहरुको समेत अवलोकन हुने छ ।

सफल सहकारीहरुका प्रगतिका बारेमा आफ्ना शेयर सदस्यलाई जानकारी गराउँदै आफ्नो ठाउँमा समेत थप सफलता हाँसिल गर्न भ्रमण आयोजना गरिएको संस्थाका अध्यक्ष युवराज भट्टराईले जनाए । भ्रमणमा अनुभव साटासाट हुनेछ ।

०५४ मा स्थापित ६ हजार जना शेयर सदस्य रहेको सो सहकारी आर्थिक प्रगतिको एक्सिस ब्रान्डिङको प्रक्रियामा गएको छ । यसले पछिल्लो १ वर्षमा २ करोड ९३ लाख ५६ हजार ४ सय ८१ रुपैयाँ आम्दामी गर्न सफल भएको छ ।

जसबाट कर कटाएर शुद्ध वचत ३० लाख रहेको छ । त्यसको ४५ प्रतिशत लाभांस वितरण गरेको छ । संस्थामा १४ प्रकारका बचत र १६ प्रकारका ऋण सेवा छन् । बाल वचतकर्ताका लागि जन्मदिन उपहार कार्यक्रम नौलो खालको छ ।