इलाम/ गाउँपालिका तथा नगरपालिकाको केन्द्र त्यही गाउँपालिका वा नगरपालिकामा पर्नुपर्ने भए तापनि इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र फरक परेपछि स्थानीय अन्योलमा परेका छन् ।

जिल्लाको सन्दकपुर गाउँपालिकाको केन्द्र हालको इलाम नगरपालिकाको क्षेत्रभित्र परेको छ । इलामको सुलुबुङ, माईमझुवा, माबू, जमुना र माईपोखरीको(४–९) सम्मको क्षेत्रफललाई सन्दकपुर गाउँपालिका घोषणा गरिएको र त्यसको केन्द्र सन्दकपुर गाउँपालिकास्थित देउराली बजारलाई तोकिएको थियो ।

तर केही समयअघि मात्र स्थानीय निकाय घोषणा भएर आउँदा त्योभन्दा भिन्न तरिकाको केन्द्र तोकिएर आएको छ । जसको केन्द्र साबिकको माईपोखरी गाविसको गाविस भवन वडा नम्बर ३ मा तोकिएको छ ।

सुलुबुङ–२ की मीना सुवेदीले भने केही दिन अगाडिसम्म देउराली केन्द्र रहेकोमा आफुहरु ढुक्क भएको तर एक्कासी परिवर्तन भएर इलाम नगरपालिकामा गाउँपालिकाको केन्द्र रहँदा आफुहरु नगरपालिकावासी हो वा गाउँपालिका अन्योलमा रहेको बताइन् ।

त्यसको विरुद्धमा त्यसमा पनि पहिले तोकिएकै ठाउँमा केन्द्र बनाउनका लागि प्रस्ताव गरिदिनका लागि स्थानीयवासीले स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्कालाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन् ।ज्ञापनपत्रमा सन्दकपुर गाउँपालिकाको केन्द्र साबिकको माईपोखरी गाविसको ३ नम्बर बडामा परेको र आपूmहरुलाई उक्त स्थान अनुुपयुक्त भएको बताइएको छ ।

यता स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले भने आफुहरुले पहिले नै त्यो कुरा थाहा पाएको र पहल गर्नका लागि सम्बन्धित निकायमा पहल गरिसकेको बताएका थिए ।

उनले स्थानीय निकायको निर्वाचनसम्मका लागि साबिकको माईपोखरी गाविसभित्रै कुनै ठाउँमा कामकाज गर्दै गर्ने र निर्वाचनपछि सामान्य बहुमतबाट नै पायक पर्ने स्थानमा तोक्ने अधिकार दिएको जानकारी दिएका छन् ।