चतरा/ उदयपुरमा सम्पन्न प्रथम बेलका कप प्रतियोगिताको उपाधि सुनसरीको बराह–११ फुटबल क्लबले जितेको छ । रामपुरको बुद्ध चौक खेल मैदानमा सम्पन्न फाइनल खेलमा बसाहा पूmटबल क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो ।
विजेता वराह–११ ले २५ हजार रूपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बसाहा फुटबल क्लबले १५ हजार रूपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । प्रतियोगितामा अमिर रोक्काले व्यक्तिगत दुई गोल गरी टीमलाई जिताएको आयोजकले जानकारी दिएको छ ।
बराह–११ को तर्फबाट जर्सी नं ८ लगाएर मैदानमा ओर्लिएका खेलाडी रोक्काले सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ३ हजार रूपैयाँसमेत प्राप्त गरे । उत्कृष्ट डिफेन्स उपविजेता टीमका लक्सिम पुञ्जल, उत्कृष्ट मिडफिल्डर आयोजक टीमका राजीव मगर र उत्कृष्ट गोलरक्षक विजेता टीम बराह–११ का खगेन्द्र भण्डारी घोषित भएको आयोजक विशाल लिम्बूले जानकारी दिए ।
बेलका नगरपालिकालाई लागूऔषधमुक्त क्षेत्र घोषणा गर्ने अठोटका साथ युनिक शिशु सदनको प्रायोजनमा सम्पन्न प्रतियोगितामा विजेता, उपविजेता टीमका खेलाडीलाई आयोजकका पदाधिकारीको उपस्थितिमा पुरस्कार प्रदान गरिएको आयोजक लिम्बूले बताए ।
फाल्गुन २० गतेदेखि जारी खेलमा बेल्टार, भागलपुर, राईजिङ क्लब बसाह, बीयुसी, ब्रदर्श हुड एफसी इटहरी, जीएमसी इटहरी, वराह–११ फुटबल क्लब र आयोजक टीम न्यू स्टार बेलका–११ सहभागी थिए ।