धरान/एसियाली विकास बैंक (एडिवी) को ऋण अनुदानमा सञ्चालित खानेपानी आयोजनाको खानेपानी ट्यान्की निर्माणका कारण पञ्चकन्या वन क्षेत्रमा रुख काटिएको विरोधमा चार किरातले धरान उपमहागरलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउदै उक्त कार्य तत्काल रोक्नको लागि माग गरेको छ । किरात याक्थुङ चुम्लुङ धरान, किरात राई यायोक्खा धरान, किरात याक्खा छुम्मा धरान, सुनुवार सेवा समाज धरानले उपमहानगरका कार्यकारी प्रमुख विष्णुकुमार कोइरालालाई तत्काल रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ती संगठनहरुले खानेपानी ट्यान्कीको नाममा वन क्षेत्रको ११८ वटा सखुवाका रुख काटी वन विनास गरेको आरोप छ । विश्व सम्पदा सूचीमा सुचिकृत गर्नु पर्ने एतिहासिक दरवार क्षेत्रको अतिक्रमण र वनविनासले हाम्रो ध्यानाकर्षण भएको चुम्लुङका नगर अध्यक्ष सुभाष हुक्पा चोङबाङले बताए । उनले उक्त कार्य तत्काल रोक्नको लागि माग गरे । उक्त खानेपानी ट्यान्की धरानको शिवधार वेशक्याम्पमाथि राख्न सकिने अवस्था रहदा रहदै विजयपुरमा निर्माण गरिनु आफैमा गलत भएको छुम्माका नगर अध्यक्ष हेमराज जिमी याक्खाले बताए । वन विनाससँगै एतिहासिक विजयपुर दरबार अतिक्रमण भएको उनीहरुको ठहर छ । यता धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले राजनीतिककर्मीस“ग छलफल भए पनि स्थानीयसँग छलफल हुन नसक्नु उपमहानगरको कमजोरी रहेको स्वीकारे ।