
काठमाडौँ/आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गरेका छन् ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही मार्च १४, १५ र १६ गते भारतको नयाँ दिल्लीमा हुँदैछ । सम्मेलनमा भाग लिएर उाी शुक्रवार स्वदेश फर्कने छन् ।
भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री निधिले नेपाल सबै किसिमको आतङ्कवादका विरुद्धमा रहेको उल्लेख गर्दै आतङ्कवादका विरुद्धमा एकअर्काको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने बताए ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको सहमतिमा सरकार बनेको उल्लेख गर्दै उनले मोर्चालाई सरकारसँग नटाढिन आग्रह गरे। गृहमन्त्री निधिले भने, “सरकारलाई दिदैं आएको समर्थन फिर्ता लिने निर्णय फिर्ता लिन मोर्चालाई आग्रह गरेका छौँ ।”
उनले वैशाख ३१ गतेको निर्वाचन अगाडि नै संविधान संशोधन गर्ने तयारीमा सरकार लागेको बताउँदै मोर्चालाई धैर्यता कायम राख्नसमेत आग्रह गरे । उपप्रधानमन्त्री निधिले एमाले सहितको दुई तिहाइमा संविधान संशोधनमा सरकार लागिपरेको जानकारी पनि दिए ।