बेलबारी/ मोरङको बेलबारीमा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीय वासिन्दाले दैनिक जीवनमा भोग्नुपरेको विषयमा सेवा प्रदायक संस्थासँग गुनासोहरु राखेका छन् ।
सरोकारवालाहरुले प्रदूषणको विषय उठाउँदै मानव मलदेखि सेकुवाको गन्धसम्मले असर पुर्याइरहेकोमा चिन्ता समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै श्याम गौतम र शेषराज घिमिरेले लोहोन्द्रा खोला क्षेत्रमा खुल्लारुपमा दिसा गर्नाले त्यसको दुर्गन्धका कारण स्वास्थ्यमा असर परिरहेको हुँदा समाधान गर्न नगरपालिकासँग माग गरेका थिए । बेलबारी–३ का तिलकप्रसाद थापाले नगरपालिकाको गेटमै सेकुवाको गन्ध आउने जनाउँदै यो समस्यालाई नगरपालिकाले कसरी लिएको छ भन्ने प्रश्न गरे । उनले यसको व्यवस्थापन नगरपालिकाले गर्नुपर्छ कि पर्दैन भन्ने थप प्रश्न गरे ।
नगरपालिका र नापी शाखाका प्रमुख मात्र रहेको सार्वजनिक सुनुवाईमा बेलबारीमा रहेको इलाका प्रहरी कार्यालय, मालपोत कार्यालय, विद्युत् प्राधिकरण, वन कार्यालय र उपस्वास्थ्य चौकीका प्रमुखहरु उपस्थित भएनन् । उनीहरुको अनुपस्थितिमा कार्यक्रमले औचित्य पूरा गर्न नसकेको सहभागी वक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै बेलबारी–४ लालभित्तीकी खिना बस्नेतले सेवा प्रदायक निकायको प्रमुखहरुको अनुपस्थितिमा कसरी सार्वजनिक सुनुवाई कार्यक्रम हुन्छ भन्ने प्रश्न राखेकी थिइन् ।
बेलबारी नगरपालिकाले यसअघि आयोजना गरेको सार्वजनिक सुनुवाईमा पनि सरकारी कार्यालयका प्रमुखहरुको सन्तोषजनक उपस्थिति थिएन । कार्यकारी अधिकृत पौडेलले भने सबै सरकारी कार्यालयका प्रमुखहरुलाई जिम्मेवारीका साथ बोलाएको बताएका छन् ।
कार्यक्रममा सरोकारवालाहरुले नापी शाखाको काम कारवाही र नगरपालिकाको विषयमा पनि प्रश्नहरु राखेका थिए । नापी शाखाको सन्दर्भमा नक्साहरु व्यवस्थित हुन नसकेको, जग्गा नापजाँचमा फरक परेको विषयहरु जिज्ञासाका रुपमा राखेका थिए । यसैगरी नगरपालिकाको सन्दर्भमा फोहोर व्यवस्थापनमा देखिएको समस्या, खुल्ला दिसा, वर्षायाममा बजार डुब्ने समस्या, सिसौली पैनीको ऐलानी जग्गा मिचेर घर निर्माण, लोकमार्गलाई मिचेर पसल गर्ने लगायतका समस्याहरु राखेका थिए ।
सरोकारवालाहरुले उठाएको सवालको बारेमा कार्यकारी अधिकृत होमप्रसाद पौडेल र नापी शाखा अधिकृत नेत्रबहादुर कार्कीले जवाफ दिएका थिए ।