नयाँदिल्ली/पश्चिम भारतको एउटा अदालतले शारीरिक रूपमा अशक्त प्राध्यापकलाई आजीवन कारावासको सजाय सुनाएको छ । भारतका माओवादी विद्रोहीलाई सहयोग गरेको भन्दै अदालतले दिल्ली युनिभर्सिटीका प्राध्यापक जिएन साईबाबालाई सो फैसला सुनाएको हो । भारतमा माओवादीले सरकारविरुद्ध लामो समयदेखि सशस्त्र युद्ध गरिरहेको छ । कम्मरभन्दा मुनि पक्षघात भएका उनी तीन वर्षअघि पक्राउ परी धरौटीमा रिहा भएका थिए । अदालतको फैसलाविरुद्ध पीडित प्राध्यापकका परिवारले पुनरावेदन गर्ने भएका छन् । प्राध्यापकसँगै अन्य चारजनालाई पनि अदालतले दोषी ठहर गरेको छ । प्राध्यापकले देशविरुद्ध आपराधिक षड्यन्त्र गरेको आरोप महाराष्ट्रको एक स्थानीय अदालतले लगाएको छ । ‘उनी शारीरिक रूपमा अशक्त भए पनि उनी मानसिक रूपमा फुर्तिला छन्,’ अदालतले फैसलामा भनेको छ । आरोपितका लागि जन्मकैद पर्याप्त सजाय नभएको पनि फैसलामा जनाइएको छ । ‘प्राध्यापक साईबाबाले जनजातिको बाहुल्य क्षेत्रमा भ्रमण गरेको र भारतीय सेनाको गतिविधि र सरकारविरुद्ध व्यापक रूपमा अभियान चलाएको पाइएको छ,’ फैसलामा भनिएको छ । उनी पहिलोपटक सन् २०१४ मा पक्राउ परेका थिए । उनी भारतीय कम्युनिस्ट पार्टी माओवादीको सदस्य भएको तर सशस्त्र समूहमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । तर, परिवारले भने अदालतको सजाय अस्वीकार गरेको छ । ‘अदालतको फैसलाले मानवअधिकार उल्लंघन गरेको छ । सरकारले आफूविरुद्ध बोल्नेको आवाज दमन गरेको छ,’ साईबाबाकी पत्नी एएस वसन्तकुमारीले भनिन् । भारतमा कम्युनिस्ट शासन स्थापित गर्न र सीमान्तकृत तथा गरिब मानिसहरूको हक अधिकारका लागि माओवादीले सरकारविरुद्ध विद्रोह गरिरहेका छन् ।