उक्त आग्रहपत्र इनर्जी डेभलपमेण्ट काउन्सिलका अध्यक्ष सुजित आचार्यले फिलिपिन्सकी  समाजसेवी राजकुमारी मारिया आमोर तोरेसलाई बिहीवार काठमाडौंमा हस्तान्तरण गरे । ‘तपाईंको देशले विश्वभरका उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा हरेक वर्ष रामोन म्यागासेसे पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ,’ पत्र हस्तान्तरणका क्रममा आचार्यले भने, ‘अतुलनीय काम गरेका घिसिङलाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्न गरिएको यो प्रस्तावपत्र सम्बन्धित ठाउँमा पुर्‍याइदिन अनुरोध गर्दछौं ।’

यति छोटो समयमा विद्युत् व्यवस्थापनको यति प्रभावकारी नमूना संसारमा आजसम्म कसैले प्रस्तुत गरेको आफूले नसुनेको आचार्यले बताए ।

पत्र ग्रहण गर्दै राजकुमारी तोरेसले आफूले सम्बन्धित ठाउँमा पत्र पुर्‍याई पुरस्कारका लागि सुझाव दिने वचन दिइन् । ‘यसभन्दा अघिल्लो पटक नेपाल आउँदा मैले दैनिक १२ घण्टासम्मको विद्युत् कटौतीको समस्या रहेको पाएकी थिएँ,’ राजकुमारी तोरेसले भनिन्, ‘यो पटक त्यस्तो नभएको मैले पनि महसूस गरेकी छु ।’ यो फरक डिजेल जेनेरेटरको अधिकतम प्रयोगले भएको अनुमान गरेकी उनले उपलब्ध विद्युत् व्यवस्थापनले भएको थाहा पाउँदा आश्चर्य प्रकट गरेकी थिइन् ।

फिलिपिन्स इकोनोमिक जोनकी सल्लाहकारसमेत रहेकी राजकुमारी तोरेस ‘ट्राभलिङ प्रिन्सेस’का रूपमा चिनिन्छिन् । वी केयर फर ह्युमानिटी नामक संस्थाकी संस्थापकसमेत रहेकी उनी मानवीयताका लागि स्वच्छ ऊर्जाको विकासमा जोड दिने गर्दछिन् । कार्यक्रममा नेपालको ऊर्जाक्षेत्रको विकासमा राजकुमारी तोरेसको योगदानका सम्बन्धमा सोधिएको थियो । उनले त्यसका लागि आफ्नो देशका सम्बन्धित निकायका साथै विभिन्न देशका आफूले चिनेका मन्त्रीहरूसमक्ष कुरा राख्ने आश्वासन दिइन् । ‘म एशिया, मध्यएशिया तथा अफ्रिकाका केही मन्त्रीहरूलाई राम्ररी चिन्छु,’ उनले भनिन्, ‘यदि नेपाल स्वच्छ ऊर्जाको विकासमा अघि बढ्छ भने लगानीका लागि म उनीहरूसँग कुरा गर्न सक्छु ।’