धरान/शंकास्पद रुपमा मृत्यु भएकी १३ वर्षीया किशोरी अनुषा राईलाई न्याय दिलाउन बनेको समितिले किशोरीमाथि ज्यादती हुने गरेको बलियो प्रमाण फेला पारेको बताएको छ ।

किशोरीको कोठामा बिहीबार बिहान गरिएको मुचुल्काका क्रममा उनका लुगाफाटालगायतबाट उनीमाथि यौनशोषण हुने गरेको केही प्रमाणहरु फेला पारेको समितिकी एक सदस्य शिव वान्तवाले बिहीबारको पत्रकार सम्मेलनमा बताइन् । उनका अनुसार समितिको दवावमा इलाका प्रहरी कार्यालय धरानले मुचुल्का उठाएको थियो ।

त्यस क्रममा बच्ची सुत्ने ओछ्यान, कपडा, उनका भित्रि कपडाहरुमा रगत, सुकेको विर्य टासिएको कपडाहरु फेला परेको उनले बताइन् । त्यस्तै तन्ना (वेडसिट) मा पनि रगतलगायतका कुराहरु फेला परेको उनले बताइन् । यस्ता कारणले पनि हत्या भएको हुन सक्ने बलियो प्रमाणहरु रहेको उनको दाबी थियो । मुचुल्कामा उपस्थित महिलाहरुले उक्त भिडियो र फोटोसमेत खिचेको उनीहरुले बताए ।

इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले मुचुल्का उठाएर समितिकै सामू शिलबन्दी गरेर ल्याएको र परीक्षणको लागि पठाउने तयारी भएको बताए । उनले बच्चाले लगाउने लुगाहरु तथा केही प्रमाणहरु छन् कि भनेर परीक्षणको लागि पठाउने बताए । उनले ‘यो रगत हो यो विर्य हो’ भनेर भन्न सक्ने आधार नभएकाले शिलबन्दी गरेर प्ररीक्षणमा शुक्रबार पठाउने बताए ।

फागुन १७ गते किशोरीले विषादी खाएर शंकास्पद मृत्यु भएपछि दोषीमाथि कारबाही हुनु पर्ने माग राख्दै उर्मिला प्रधानको संयोजकत्वमा अनुषा राई हत्या प्रकरण छानविन समिति बनेको थियो । उक्त समितिको आधिकारिता बारे पनि पत्रकारहरुले प्रश्न उठाएका थिए । समितिले अस्पताल प्रशासनलाई सत्यतथ्य पोष्टमार्टम गर्न, तथा प्रहरी प्रशासनलाई कारबाहीको लागि दवाव सिर्जना गर्दै आइरहेका छन् ।

उनीहरुले पत्रकार सम्मेलनमा मृतक बालिकाको न्याय र तथा दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै सरोकारवाला, राजनीतिक दलहरु, महिला सञ्जाल, उप्का नेपाल, बालअधिकारकर्मी, मानवअधिकारकर्मीहरुलाई समन्वय तथा सहयोग गर्न अनुरोध गरेको छ । समितिकी संयोजक प्रधानले दोषीलाई कारबाही हुनु पर्ने बताइन् । ‘हाम्रो माग दोषीलाई कारबाही र पीडितले न्याय पाउनु पर्छ भन्ने हो ।’ उनले पत्रकार सम्मेलनमा भनिन् ।

धरान–१६ पुन्यमार्गका बलिमान राई र पदमकुमारी राईले ८ वर्ष अघि सामान्य कागजात गरेर धर्मपुत्रीको रुपमा राख्ने भन्दै उनको पिता जितबहादुर राईबाट लगेका थिए । पिता जितबहादुरले पनि ८ वर्षमा दुईपटक मात्रै गेट बाहिरबाट भेट गरेको पत्रकार सम्मेलनमा बताए । उनी सुनसरीको सदरमुकाम इनरुवा तिर बस्दै आइरहेको बताए ।

बलिमान राई र पदमकुमारी राई हाल प्रहरी हिरासतमै छन् । पोष्टमार्टमको पूर्ण रिपोर्ट नआएकाले घटना हत्या हो या होइन् भन्ने खुल्न सकेको छैन् । भिषरा र भेजाइनल स्वाबको रिपोर्ट आउन बाँकी छ । त्यो नआइञ्जेलसम्म घटनाको पूर्ण विवरण आउन नसक्ने प्रहरीले बताउँदै आइरहेको छ । यस अघि प्रारम्भिक पोष्टमार्टमका क्रममा किशोरीले बारम्बार आत्महत्याको प्रयास गरेको खुल्न आएको पोष्टमार्टममा संलग्न चिकित्सकहरुले बताएका थिए । ‘बच्ची कुनै न कुनै दवाव वा मानसिक तनाव’ मा रहेको चिकित्सकहरुले बताएका थिए ।

राई दम्पतीको घरमा बालश्रमिक रहेको भन्दै स्टीकर बालश्रम मुक्त नगर अभियानको क्रममा धरान–११ नागरिक वडा मञ्चले उक्त घरमा एकवर्ष अघि नै स्टीकर टाँसेको कुरा खुल्न आएको छ ।

तर, सम्बन्धित निकाय धरान उपमहानगरपालिकाले त्यसतर्फ ध्यान नदिँदा बच्चीले अनाहकमा ज्यान गुमाएको बताउँदै आइरहेका छन् । बिहीबारको पत्रकार सम्मेलनमा एकवर्ष अघि नै स्टीकर टाँस गरेको आफूहरुलाई घटनापछि मात्रै थाहा भएको उप्का नेपालका कार्यक्रम निर्देशक हेमचन्द्र राईले बताए । ‘वडा नागरिक मञ्च ११ नम्बर वडाले एकवर्ष अघि नै टाल्नु भएको रहेछ ।’ उनले भने, ‘त्यो विषयमा नगरपालिकालाई पनि जानकारी दिएको रहेछ ।’ तर, नगरपालिकाले वास्ता नगरेको कारणले बच्चीले ज्यान गुमाएको उनको पनि ठहर छ । उपमहानगरपालिकाका सामाजिक विकास शाखा अधिकृत सुनिल नेपालले स्टिकर टाँसे जति सबैमा बालश्रमिक छ भन्ने कुरा होइन्, त्यो चाही जनचेतनाको लागि टाँसिएको बताए । र, त्यहाँ बालश्रमिक छ भनेर औपचारिक रुपमा आफूलाई यस विषयमा जानकारी नभएको बताए । साथै, समितिको छलफलमा पनि त्यो कुरा नआएको उनले बताए ।

‘औपचारिक रुपमा जानकारी भएको मलाई थाहा भएन् । कसैले सामान्य रुपमा भन्नु भएको हो भने त्यो थाहा भएन ।’ उनले भने, ‘बालश्रमिक राखेको हकमा कारबाही गर्ने अधिकार हाम्रो भन्दा पनि प्रहरीको हो । सचेतना गर्ने काम हाम्रो हो ।’