बाजुरा/ उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ ।
उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिबपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए ।
उनले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिंदै आएको थियो ।
नुन डिपो स्थापना भएपछि उक्त गाविसका बासिन्दा खुसी भएका छन् । “एक पोका नुन लिन रु ६०० खर्च हुथ्यो तर अहिले एक दिनमै नुन पाइने भयो” स्थानीय धर्मलाल सुनारले बताए ।
एक पोका नुन लिन दुई दिन लाग्नुका साथै रु ६०० देखि रु एक हजारसम्मको खर्च हुने गरेको उनको भनाइ छ ।
कवाडीमा नुन डिपो सञ्चालन भएपछि जिल्लाका रुगिन, बिच्छ्या गाविस र छिमेकी जिल्ला हुम्ला र मुगु जिल्लाका जनतालाई सहज भएको कोल्टी डिपो प्रमुख धर्मराज पाध्यायले बताए । यसबाट हुम्ला र मुगु जिल्लाका स्थानीयवासीलाई सहज भएकोे छ ।
कवाडी डिपोका लागि ४०० क्विन्टलभन्दा बढी नुन स्वीकृत भएको छ ।