धरान/भारतीय हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।अहिले पनि दुबै तर्फका मानिसहरु ढुंगामुढासहित सीमा क्षेत्रमा भेला भएका छन्। दुबै तर्फका वासिन्दालाई सुरक्षाकर्मीले रोकेका छन्। घटनाबारे बुझ्न कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दसहितका सुरक्षा अधिकारीहरु घटनास्थल गएका छन्। भारतीय सीमा सुरक्षा बलका अधिकारीहरु पनि घटनास्थलमा आएका छन्।