काठमाडौं/ मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा यादवले भने, “अब एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन ।”

साक्षात्कारमा यादवले एमालेलाई आफूहरूले तराई–मधेसमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको प्रष्टोक्ति दिए ।

“एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी बिथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउछौँ ।”

एमाले नेता–कार्यकर्ताको घर तोडफोडमा मोर्चाको संलग्नता छैन उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको प्रष्ट्याए ।

“हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ,” उनको दाबी थियो ।

उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनैपनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने स्पष्ट पारे । उनले भने, उनीहरूले अभियान चलाउन पाउनेछन्, त्यो उनीहरुको अधिकारको कुरा हो ।”

उनले सप्तरी घटनामा मोर्चालाई दोष लगाउने काम कपोलकल्पित मात्रै भएको आरोप लगाए । उनले थपे, “एमालेको अभियानबारे मधेसी जनतामा आक्रोश थियो, यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो रु यो नश्लवादी गतिविधि हो ।”