काठमाडौं/ सप्तरी घटनापछि पहिलो पटक प्रमुख तीन दलको बैठक बसेको छ ।

देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सप्तरी गोली काण्डका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटनापछि मधेशी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवम् विकसित परिस्थितिका बारेमा जानकारी गराएका छन्।

प्रधानमन्त्रीले राष्ट्रिय मुद्दामा समान धारणा बनाएर जानुपर्ने आवश्यकतामा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले अहिले मधेशमा आन्दोलनका कारण केही असहज अवस्था सिर्जना भएको भन्दै एमालेलाई मेची महाकाली अभियान केही दिन स्थगित गरेर राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गरेका छन्।

बैठकमा एमालेका नेताहरुले आफ्नो पार्टीका कार्यक्रममा शान्ति सुरक्षाको सुनिश्चितता गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधि, पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ लगायतका शीर्ष नेता सहभागी थिए ।