इटहरी/ तपाईं युट्युवमा के के हेर्नुहुन्छ ? कमेडी भिडियो, म्युजिक भिडियो, प्राङ्क च्यानल, नेताका भाषण, कलाकारका न्युज, चलचित्र र डकुमेन्ट्रीहरु । तर, युट्युवमा यी बाहेक थुप्रै कुराहरु पनि छन् । जानकारहरु भन्छन् विद्यार्थीको लागि युट्युव एकखालको निःशुल्क विश्वज्ञान कोष हो । तपाईंले चाहेका हरेक कुराहरु युट्युवमा उपलब्ध छन् । जस्तै ः तपाई तेह्रथुममा बस्नुहुन्छ तर कोरिया जानलाई भाषा सिक्न समस्या भइरहेको छ । घरमा इन्टरनेट छ भने तपाईंले महँगा इन्स्टिच्युटहरु धाउनै पर्दैन ।
युट्युवमा गएर कोरियन भाषाका सयौँ भाषा सिकाउने भिडियोहरु उपलब्ध छन् । घरमा इन्टरनेट छैन भने पनि इन्टरनेट भएको ठाउँमा गएर आफूलाई चाहिने भिडियोहरु तपाईंले डाउनलोड गर्न सक्नुहुनेछ । भ्याएको समयमा घरमा गएर ल्यापटप, कम्प्युटर वा आफ्नो मोबाइल फोनमा हालेर पढ्न सक्नुहुन्छ ।
कोरियन भाषा मात्रै हैन, चलेका हरेक विश्व भाषाहरु सिक्न युट्युवमा लाखौँ भिडियोहरु हालिएका छन् । धेरैमध्ये छानेर एक मन परेको र बुझिने राम्रो च्यानलबाट तपाईंले सिक्न सक्नु हुनेछ । भाषाका मात्रै हैन, तपाईं भोल्सवागन कार चलाउन, चपस्टिक प्रयोग गर्न, ग्राफिक डिजाइन सिक्न, ल्यापटप बिग्रेको बनाउन सबै कुराहरु युट्युवबाटै सहजै सिक्न सक्नु हुन्छ ।
यत्तिका धेरै युट्युवका सुविधाहरु प्रयोग गर्नेहरु भने कमै छन् । जसमा पर्छिन् बिबिएस तेस्रो वर्षकी विद्यार्थी दुर्गा गौतम । इटहरी–४ की गौतम आफूले चाहेको कुराहरु सिकाउने अरु कोही नहुँदा सोध्न युट्युवमा पुग्छिन् । टेलरिङ सिकेकी गौतमले टेलरिङ क्षेत्रमा पनि नयाँ नयाँ कुराहरु युट्युवमा नै सिक्ने बताउँछिन् । ‘एकदिन अम्ब्रेला कुर्ता सुरुवाल बनाउन आग्रह आयो तर मलाई बनाउन आउँदैनथ्यो तर मैले त्यसमा पनि युट्युवलाई नै सोधेँ’ गौतम भन्छिन्, ‘हाउ टु मेक अम्ब्रेला कुर्ता’ भनेर सर्च गरेपछि मैले सबै तरिका सिकेँ ।’
लुगाका आइटम सिलाउन मात्रै हैन, आफ्ना भान्छाका विभिन्न परिकार बनाउन पनि गौतम युट्युवकै भर पर्छिन् । ‘एकदिन भुटुरा रोटी बनाएर खान मन लाग्यो, त्यो पनि खोजेको भेटिहालेँ’ गौतम भन्छिन्, ‘अंग्रेजी र हिन्दी दुवैमा पाएका भिडियोमा मैले हिन्दीबाटै सिकेँ किनकि म हिन्दी मजाले बुझ्छु ।’
डिजिटल जमाना बुझेका युवा पुस्ताहरु आजकाल मनोरञ्जनका अतिरिक्त नयाँ कुराहरु सिक्न पनि युट्युव प्रयोग गर्छन् । त्यसमध्येकै हुन् विराटनगरका विक्रम शर्मा । गिटारका सौखिन शर्माले युट्युवबाटै सिकेर अहिले राम्रो गिटार बजाउन सक्छन् । ‘गिटार सिक्न बाहिर जाँदा एक त पैसा लाग्छ र अर्को गुरुले सिकाएको समयमा ध्यान पुगेन भने सिक्नै सकिन्न अनि दोहो¥याएर सोध्न पनि समस्या हुन्छ’ युट्युवलाई गुरु मान्ने शर्मा भन्छन्, ‘युट्युवमा भने केही तनाव हुन्न । रोकी रोकी हेर्न र सिक्न पाइन्छ । न सिकाउनेले पैसा माग्छ, न सिक्नेलाई बोर हुन्छ । पन्ध्रसयको इन्टरनेटले हजारौँको शिक्षा दिन्छ ।’
सिक्नेलाई शिक्षा, सिकाँउनेलाई पैसा र पपुलारिटी युट्वुममा सिक्ने कुराहरु त जे पनि पाँइन्छ भन्ने कुराहरु छँदैछन । अझ निशुल्क र धेरै विकल्पहरुमा छानेर पढ्ने कुराहरु पनि युट्युब शिक्षाका फाइदाहरु भए । महत्वपुर्ण विषयका कुराहरु युट्युबमा हालेर सिकाँउनेलाइ पनि युट्युबमा फाइदै फाइदा छ । सिकाइएका कुराहरु विश्व स्थरिय र आर्कर्षक भएमा त्यसले एक त सिकाँउनेलाइ चर्चा दिन्छ । चर्चासँगै पैशा पनि आँउछ ।
युट्युबमा आधिकारिक अकाउन्छ दर्ता गरेपछि तपाँइले हालेको हरेक भिडीयोलाइ एक हजारले हेर्दा कम्तीमा एक डलर आँउछ । एक डलरको नेपाली मुल्य एक सय रुपैयाँ हुन आँउछ । अर्थात एक लाख भ्युअर्स भनेको दश हजार कमाउनु हो । पाँच लाखले हेरेमा त पचास हजार कमाइ भयो । नेपालमा त विभिन्न सिप सिकाएर रकम कमाँउने कमै छन । तर, टेलिसिरियल, कविता तथा गजल बाचन अनि प्रांक च्यानल बनाएर युट्युबमा पैशा कमाउने भने थुप्रै छन । राम्रा टेलिभिजका कार्यक्रमहरु र सर्ट मुभी बनाएर रकम कमाउनेहरु पनि छन ।
उसो त सिकाएर नकमाँउने पनि कम छैनन । जस्तै ‘के कसरी’ भन्ने एउटा च्यानल छ जसले युट्युबका भिडियोलाइ कसरी पैषा कमाउने बनाउने भन्ने सिकाएको छ । उक्त भिडियोलाइ शुक्रबार सम्ममा साढे छ हजारले हेरेका छन । अर्थात युट्युबबाट कमाउन सिकाउने उक्त भिडियोले आँफै युट्युबमै साढे छ सय कमाइसकेको छ । यो क्रम बढ्दो छ ।
नयाँ शिक्षा र सीपहरु चल्छन् राम्रो कुराहरु सिकाएर पैसा कमाउन चाहनेलाई भने युट्युवमा अझै पर्याप्त ठाउँ खाली भएको कम्प्युटर इञ्जिनियरिङ गरेका गुरु लामा कार्की बताउँछन् । उनी भन्छन्, ‘कोरियन भाषा सिकाउने या नेपाली परिकार जस्तै गुन्द्रुक बनाउने वा ढिँडो बनाउने कुरा पनि चल्न सक्छ । किनभने यस्ता भिडियो बनाउनेहरु पनि धेरै भेटिन्न । त्यस्ता भिडियो हालेर सिकाउनेले राम्रो कमाउन सक्छन् ।’
अंग्रेजी, चिनियाँ, जापानिज वा अन्य देशका नागरिकको भाषामै नेपाली भाषा सिकाएका भिडियोका दर्शकहरु र आम्दानी पनि राम्रो हुनसक्ने कार्कीको तर्क छ । कार्कीका अनुसार बजारमा आएका नयाँ सीपमूलक र जानकारीमूलक कुराहरु सबै युट्युवमा चल्न सक्छन् । आइएलटिएस वा टोफेल कक्षा तयारीका आकर्षक नेपाली भिडियोहरु पनि चल्न सक्ने कार्कीको भनाइ छ ।
पालाम गाउन वा साकेला नाच्ने तरिका पनि चल्न सक्ने कार्कीको तर्क छ । ल्यापटप, मोबाइल वा कम्प्युटर बिग्रेमा के कसरी बनाउने भन्ने बारेका भिडियोहरुको माग पनि उत्तिकै भएको कार्कीको अनुभव छ । ‘युट्युवमा सिकाएर पैसा कमाउने हो भने सबैभन्दा पहिले धेरैले चाहेर पनि नपाएको कुरा पत्ता लाउनुहोस् र सिकाउनुहोस् त्यो बिक्छ’ कार्की भन्छन्, ‘त्यसले हेर्नेलाई आनन्द दिन्छ र हाल्नेलाई आम्दानी हुन्छ ।’
यसरी युट्युवका भिडियोलाई मनिटाइज्ड गर्ने सबैभन्दा पहिला युट्युवका भिडियोहरुले पैसा कमाउने हुनलाई युट्युव अकाउन्ट भेरिफाइड गर्नुपर्छ । भेरिफाइ भएको अकाउन्टको फिचरमा गएर भ्यु मनिटाइजेसन सेटिङमा गएर मागेको सूचना दिएर मनिटाइज्ड गर्न सकिन्छ । मनिटाइज्ड भनेको भिडियोलाई पैसा कमाउन योग्य बनाउने एक प्रक्रिया हो ।
मनिटाइज्ड गर्दा सुरुमा जीमेल अकाउन्ट अनिवार्य हुनुपर्छ । सजिलोको लागि युट्युवकै के कसरी भन्ने च्यानलले राखेको ‘हाउ टु मनिटाइज्ड युट्युव अकाउन्ट इन नेपाल’ सर्च गरेर त्यहाँका सूचनाहरु पालना गर्दै मनिटाइज्ड गर्न सकिन्छ । जसमा सोध्ने अन्य प्रश्नभन्दा नेपालको टाइम जोन सोध्दा धेरैलाई जानकारी नहुन सक्छ । त्यो टाइम जोनको उत्तरमा ग्त्ऋंछस्द्धछ हाल्नुपर्छ ।
पोस्टल कोड माग्दा धेरैलाई कन्फ्युज हुन्छ । तपाईं धरानको हो भने पोस्टल कोड ५६७०० हाल्नुपर्छ । धरानकै मंगलबारेको हुनुहुन्छ भने ५६७०२ हाल्नुपर्ने हुन्छ । इटहरीको पोस्टल कोड ५६७०५ हो भने विराटनगरको कोड ५६६१३ हो । यस्तै दमक, विर्तामोड र भद्रपुरका कोडहरु क्रमशः ५७२१७, ५७२०४ र ५७२०० हुन् ।
धनकुटाको पोस्टल कोड भने ५६८०० हो । तपाईं यी बाहेक बाँकी स्थानको हुनुहुन्छ भने गुगलमा सर्च गरेर वा स्थानीय हुलाक कार्यालयलाई बुझेर पोस्टल कोड भरेर आफ्नो अकाउन्ट भेरिफाइ गर्न सक्नुहुनेछ । के थाहा कतै तपाईले हालेको कसरी च्याब्रुङ बजाउने वा धाननाच र साकेला नाच्ने तरिका सिकाएको भिडियोले लाखौँ दर्शक र हजारौँ रकम त कमाउने हैन ? के थाहा तपाईले हालेको बाँसुरी बजाउने र सारङ्गी रेट्ने तरिका वा गणितको ट्रिगोनोमेट्री सिकाएको भिडियोले तपाईंलाई राम्रो नाम र दाम त दिने हैन ?
युट्युव गुरुबाट सिक्न र सिकाउन अंग्रेजी अनिवार्य कला, संगीत तथा कमेडी भिडियो जस्तो सहज छैन सिक्ने र सिकाउने काम । तर, राम्रो अंग्रेजी हुनेले जेसुकै सिक्न र सिकाउनलाई युट्युव हाजिर छ । संसारका सबैजसो ठूला भाषाहरु सिक्न, वाद्यवादन बजाउन, किचनका परिकारहरु बनाउने तरिकाहरु सबै अंग्रेजीमै बढी पाइन्छ । यसरी पाइएको अंग्रेजी तरिकालाई आफ्नो भाषामा आफैले बनाएर सिकाउँदा राम्रो दर्शक पाउन सक्ने कम्प्युटर शिक्षाका जानकार सन्तोष धमला बताउँछन् । उनी भन्छन्, ‘विश्वको ट्रेण्ड बुझेर आफ्नो कौशल सिक्न र सिकाउन पनि अंग्रेजी हुनै पर्छ । जस्तै ः तपाईले चाइनिज भाषा जानेर अंग्रेजी सिक्न सक्नुहुन्न तर अंग्रेजी सिकेर चाइनिज सिक्न सक्नुहुन्छ । किनभने अंग्रेजी भाषामा चाइनिज भाषा कक्षाहरु धेरै पाइन्छन् तर चाइनिज भाषाबाट अंग्रेजी सिकाउने पाउन गाह्रो हुन्छ ।’