काठमाडौं/ तस्करी र दुई नम्बर धन्दामा संलग्नहरुले आफूहरुलाई समाजसेवीका रुपमा बढी नै प्रचार गर्ने गर्दछन् । हालै सिआईबीले बाहिर ल्याएका सुन तस्करहरुले पनि समाजसेवीको आवरण बनाइसकेका थिए । उनीहरुले चर्चित कलकारहरु धुर्मुस–सुन्तली (सिताराम कट्टेल–कुञ्जना) घिमिरेलाई समेत फसाएको खुलेको छ ।
दृष्टि साप्ताहिक लेख्छ- गत २१ डिसेम्बरमा धुर्मस सुन्तलीले दुबईस्थित बाग्मती जनरल ट्रेडिङ नामक पसलको उद्घाटन गरेका थिए । नेपाली व्यवसायीहरुले दुबईमा पुगेर यस्तो प्रगती गरेको भन्दै धुर्मुस सुन्तलीले पसल सञ्चालकको प्रशंसा गरेका थिए । यसरी प्रशंसा पाउने व्यक्तिहरु कुख्यात सुन तस्कर हरि खड्का, रोशन भुषाल लगायत थिए । उनीहरुले आफ्नो पसलको उद्घाटनका लागि चर्चित कलाकारलाई दुबई लगेका थिए ।
पसल उद्घाटन मात्र होइन, उनीहरुको एकीकृत बस्ती निर्माणका लागि भनेर खड्काले ५ लाख रुपैयाँ सहयोग समेत दिएका थिए । सुन तस्करीबाट एक महिनामै उनले ५ करोड भन्दा धेरै कमाउँदै आएका थिए । उनको समूहले पछिल्लो एक वर्षमा १५ सय केजी भन्दा धेरै सुन तस्करी गरेका थिए । उनै खड्का प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीका नाइके भएको सिआईबीले जनाएको छ । जसले विगत २ वर्षदेखि सुन तस्करी गर्दै आएका थिए । १२ वर्षअघि सामान्य कामदारका रुपमा दुबई छिरेका उनी अहिले करोडौंका मालिक भइसकेका छन् । वर्षाैदेखि सुन तस्करीमा किसन अग्रवालको समूहसँग मिलेर उनी यस्तो धन्दामा लागेका हुन् । दुबईमा ५० किलो सुन राखेर उनले याक एण्ड यती सुन पसल खोलेका छन् ।
त्यस्तै दुबईकै अष्ट्रिया होटलमा याक एण्ड यती नेपाली रेष्टुरेन्ट समेत खोलेका छन् । यूएईमा नेपालीहरुले खोलेकोमध्ये त्यही याक एण्ड यती मात्र मदिरा बिक्री गर्न पाउने रेष्टुरेन्ट हो । लाजिम्पाटमा घर बनाइसकेका उनले तस्करीमा ३० जना भन्दा धेरैको गिरोह बनाइसकेका थिए । एयरपोर्टका प्रहरी र भन्सारका कर्मचारीलाई समेत सेटिङ मिलाएर उनी तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।