नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २३ गते भएको सप्तरी घटनामा सरकारको दोष नभएको बताएका छन् । उनले नेकपा एमाले र मधेसी मोर्चाबीच झडप हुँदा प्रहरीले बिना आदेश गोली चलाएकोले सरकारको दोष नभएको तर्क गरे । ‘प्रधानमन्त्रीले गोली नचलाउन आदेश दिएका थिए’ उनले भने ‘सरकारको आदेश विना गोली चलाउँदा भएको घटनाबारे गम्भीर समिक्षा हुनेछ ।’
मुलुक शान्तिको बाटोतर्फ लम्किरहँदा सप्तरी घटनाले अवरोध श्रृजना गरेको उनको तर्क छ । प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बादलले सप्तरी घटनाले मधेसमा स्थानीय निर्वाचन हुने सम्भावना घट्दै गएको दाबी गरे ।
उनले संविधान संशोधनपछि मात्र निर्वाचन भए मधेसमा चुनाव सम्भव रहेको समेत बताए । ‘संविधान संशोधनसँगै चुनाव गर्नु महत्वपूर्ण पक्ष हो, मुलुकलाई विकास, संघीयता र शान्ति स्थायित्वका लागि स्थानीय चुनाव आवश्यक छ’ उनले भने ।