धरान / नेपाल तामाङ घेदुङ, धरान उपमहानगर कार्यसमिति वडा नं. १६ को कायार्यलय भवनको उद्घाटन भएको छ । नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार तथा पूर्व केन्द्रिय उपाध्यक्ष सुजेन्द्र तामाङले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् । घरदैलो, देऊसी भैलो र ल्होछार खेलेर एघार लाखको लागतमा कार्यालय भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक जितबहादुर तामाङले बताए ।

यस अघि त्यसैगरी विभिन्न सांस्कृतिक चाडपर्वहरुको अवसरमा कार्यक्रमहरु गरेर र घरदैलो गरेर आर्थिक संकलन गरी करिव पांच लाख मूल्य बराबरको पांच धुर जग्गा खरीद गरेको १६ नं. इकाई घेदुङका अध्यक्ष प्रेम वाइवाले बताए ।

उद्घाटन कार्यक्रम कै अवसरमा घेदुङको १६ नं. इकाईको अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनवाट अध्यक्ष गणेश घिसिङ, उपाध्यक्ष सुरज वाईवा, सचिव इन्दु कुमारी तामाङ, कोषाध्यक्ष सरिता तामाङ र सदस्यहरु रोशन बल, शिरमाया घिसिङ, अमृत तामाङ, पेमा बम्जन, मिना तामाङ, सुरेन्द्र योञ्जन रहेको नयां कार्यसमिति सर्वसम्मतले चयन भएको छ । सो अवसरमा तामाङ संस्कृति झल्कने नृत्य तथा विविध सांस्कृति कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य मैतबहादुर गोले, १ नं. प्रदेशका उपाध्यक्ष रामबहादुर ग्यावा, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा, धरान नगर अध्यक्ष प्रेमकुमार वाइवा, पूर्व धरान नगर अध्यक्ष जयबहाुदुर मोक्तान, नेपाल तामाङ महिला घेदुङका सुनसरी जिल्ला अध्यक्ष विष्णु मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ धरानका अध्यक्ष चित्रराज थापामगर, उपाध्यक्ष रामबहादुर योञ्जन, नेपाल आदिवासी जनजाति राष्ट्रिय महिला महासंघ धरानका अध्यक्ष रमला तामाङ, श्री हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बा धरानका अध्यक्ष हर्कबहादुर गोले लगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो ।