धरान/नेकपा एमालेको मेची महाकाली अभियान सप्तरी आउने चर्चासँगै मधेशी मोर्चाले कार्यक्रम गर्न नदिने उर्दी गर्दै आएको थियो ।
त्यही क्रममा मोर्चाको अवरोधको कारण सप्तरीमा गर्ने भनिएको कार्यक्रमको स्थलसमेत परिवर्तन गरी कार्यक्रम गरेको थियो । मोर्चाका कार्यकर्ताहरुले त्यहाँ पनि कार्यक्रम विथोल्ने हरसम्भव प्रयास गरेको थियो । कार्यक्रम जसरी सुरु हुँदै थियो, उसैगरी मोर्चाका कार्यकर्ताहरुले चारैतर्फबाट घेराउ गरेको घटनामा प्रत्यक्षदर्शी घाइते प्रहरी जवान रमेश मगरातीले बताए ।
उनका अनुसार सुरुमा सामान्य ढुङ्गा हान्ने र विथोल्ने प्रयास गरेका थिए । स्थिति सामान्य भइञ्जेलसम्म प्रहरीले पनि कार्यक्रम स्थल प्रवेशमा रोक लगाएको थियो । तर, जव केपी शर्मा ओलीको भाषणसँगै कार्यक्रम समापनको तरखरमा थियो । उसैगरी मोर्चाका कार्यकर्ताहरु उत्तेजित हुँदै गइरहेको उनले बताए ।
साढे ३ बजेतिर घटनाको रुप फेरिदै गइरहेको थियो । त्यही क्रममा ८–१० वटा पेट्रोल बम प्रहार गर्न थालेपछि प्रहरीले पनि गोली ठोक्न बाध्य बनेको उनको भनाइ छ । त्यो क्रममा उनलाई पनि प्रदर्शनकारीको प्रहारबाट टाउँकोमा चोट लागेको थियो । उनीसँगै रानीगण विराटनगरमा कार्यरत प्रहरी जवान रञ्जित सिंहको पनि टाउकोमा चोट लाग्न पुग्यो ।
इटा, लाठी, ढुंगामुढा प्रहार गर्ने क्रम नरोकिएपछि प्रहरीले सुरुमा हवाई फायर, अश्रुग्यास प्रहार गरेको सिंहले बताए । यता मोर्चाका कार्यकर्ताहरुले भने प्रहरीले सामान्य अवस्थामै हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर मोर्चाका कार्यकर्ताहरुलाई थप उत्तेजित बनाउने काम गरेको लाठीचार्जबाट घाइते बनेका राजविराज १० सप्तरीका पशुपति यादवले बताए । उनले प्रहरीले अन्धाधुन्द मोर्चाको कार्यकर्ता भन्दै सामान्य मान्छेहरुलाई पनि लाठी चार्ज गरेको आरोप लगाए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको हात खुट्टा, टाउँको, बायाँ आँखालगायत हातमा चोट लागेको छ भने एउटा औला भाच्चिएको उनले बताए । १५ प्रदर्शनकारी र २ प्रहरी जनाव उपचारको लागि प्रतिष्ठानमा ल्याइएको थियो ।
जसमध्ये दुईजनाको उपचारको क्रममा र एकजनाको घटनास्थलमै मृत्यु भइसकेको छ । प्रतिष्ठानमा आएका मध्ये मध्येपुरा–१ सप्तरीका इन्द्र यादवलाई आइसियुमा उपचार भइरहेको छ ।
तर, उनी खतरामुक्त रहेको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । घाइते मध्ये रामपुर मलंगिया ४ सप्तरकिा अरुणकुमार यादव, लोखरम–३ सप्तरकिा जपु साह, राजविराज–३ का दिनेश साह र राजविराज–८ का लक्ष्मण यादवलाई डिस्चार्ज गरिएको छ ।
हाल उपचाररतका रुपमा राजविराज–१० का पशुपति यादव, झुट्की–४ का विरेन्द्र यादव, बरीपुर–१ का दिलिप यादव, मलेठ–२, विरेन्द्रकुमार महतो, राजविराज–७ का जितन साह, राजविराज–७ का सुरेन्द्रकुमार यादव र राजविराज–५ का दिगम्बर यादवको उपचार भइरहेको छ ।
घटनामा मृत्यु हुनेमा सञ्जन मेहता, पिताम्बरलाल मण्डल र आनन्द साह छन् । मेहताको टाउकोमा गोली लागेर घटना स्थलमै मृत्यु भएको थियो भने मण्डल र साहको उपचारको क्रममा प्रतिष्ठानमा मृत्यु भएको थियो । प्रतिष्ठानमा आएका घाइतेहरु सबै खतरामुक्त छन् ।