धरान/नेकपा एमालेको मेची महाकाली अभियानलाई विथोल्ने प्रयास गर्दा प्रहरीसँगको झडपका क्रममा गोली लागेर तीनजनाको मृत्यु भएको छ ।
[caption id="attachment_32813" align="alignnone" width="1024"]
प्रहरीको झडपमा परी घाइते भएका दिगम्बर यादव बीपी प्रतिष्ठानकाे अाकस्मिक कक्षमा उपचार हुँदै । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजनाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । घटनास्थलमा सप्तरी मलेठ २ का सञ्जन मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै उपचारमा ल्याउने क्रममा प्रतिष्ठानमा ल्याएका मध्ये मलेठ ४ सप्तरीका अन्दाजी ५० वर्षीय पिताम्बरलाल मण्डल र पसवनी ४ सप्तरीका अन्दाजी ३० वर्षीय आनन्द साहको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । मण्डलको छातीमा गोली लागेको थियो भने साहको दाहिने छातीमा गोली लागेको थियो ।
उक्त घटनामा गोली लागेका मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रतिष्ठानका आकस्मिक विभागका विभागीय प्रमुख ज्ञानेन्द्र मल्लले बताए पनि बलिपुर १ सप्तरीका दिलिप यादव, मध्यपुरा १ सप्तरकिा इन्दर यादव र मलेठ २ का विरेन्द्रकुमार मेहता गम्भीर रहेको बताइन्छ । उनीहरुलाई अपरेशन थिएटरमा लगिएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ ।
प्रतिष्ठान आइपुग्ने अन्य घाइते हुनेमा ठेगाना नखुलेका १५ वर्षीय सुरेन्दर साह, राजविराज ८ का लक्ष्मण यादव, राजविराज–५ का दिगम्बर यादव, ठेगाना नखुलेका ३३ वर्षीय जितन साह छन् । उनीहरुको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।

घाइते मध्ये बोल्न सक्ने अवस्थामा रहेका दिगम्बरको कम्मरभन्दा मास्तिर गोली लागेको छ ।
यसरी भयाे घटना
यादवका अनुसार कार्यक्रम हेर्न गएको समयमा एक्कासी प्रहरीले अश्रुग्यास तथा हवाई फायरिङ गर्न थालेपछि तितरबितर भएको गोली चलाउँदा आफूलाईसमेत गोली लागेको बताए । कानुन व्यवसायीसमेत रहेका यादवले कार्यक्रम कस्तो भइरहेको छ भनेर हेर्न गएको बताए ।
‘कानुन व्यवसायी जस्तो मान्छे हामी कार्यक्रम विथोल्न जान्छु ।’ उनले भने, ‘कार्यक्रम कस्तो हुँदैछ भनेर हेर्न गएको थिए । प्रहरीले एक्कासी गोली चलाएपछि मान्छे भागाभाग भयो ।’ उनका अनुसार घटनामा मोर्चाका कार्यकर्ताहरु भन्दा कार्यक्रम हेर्न पुगेकाहरुलाई गोली लागेको हुन सक्छ ।
यो घटनाका प्रत्यक्षदर्शी राजविराज ८ का अजय साहले आन्दोलन भइरहेको बेला प्रहरीले एक्कासी हवाई फायरिङ र अश्रु ग्यास प्रहार गरेको बताए । त्यसपछि तितरवितर भएपछि गोली प्रहार गरेको उनले बताए । एमालेकाे कार्यक्रम सकिए लगत्तै घटना सुरू भएकाे थियाे ।