नेकपा माओावादी केन्द्रले झापाको दमक नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारी घोषणा गरेको छ । माओवादीले मुलुकमै पहिलो पटक पार्टीको तर्फबाट मेयर र उपमेयरको घोषणा गरेको भन्दै मेयरमा रेवतराज पुरी (गगन) र उप–मेयरमा शान्ति धिमाललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । पुरी झापा क्षेत्र नं. ७ का क्षेत्रीय इन्चार्ज हुने भने धिमाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव हुन् ।

दमकको मेयर र उप–मेयरको घोषणा पार्टीको तर्फबाट मुलुकमै पहिलो भएको नगर इन्चार्ज दुर्गा चौलागाईले बताए । घोषणा सभालाई सम्बोधन गर्दै मेयरका उम्मेद्वार पुरीले दमकलाई मुलुकको ‘युरोप’ सहरका रुपमा विकास गर्न आफू उम्मेदवार बनेको उद्घोष गरे । आफू स्थानीय जनताकै विकास निर्माणमा खटिरहेकोले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको उनले दाबी समेत गरे ।

सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३१ गतेलाई घोषणा गरेको छ । मिति घोषणसँगै नगरका प्रमुख राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । हाल १९ वटा वडा रहेको दमकमा नयाँ संरचनाअन्तर्गत १० वटा वडा तय गरिएको छ । माओवादीले हालै नयाँ संरचनाअन्तर्गत रहेर वडा भेला र नयाँ नेतृत्व समेत चयन गरिसकेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर समेत रहेको दमकमा मेयर र उप–मेयरमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । कांग्रेस, एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा जाने तयारी गरिरहेका छन् । चुनावलाई लक्षित गरी कांग्रेसले नगरका ‘टोल–टोलमा कांग्रेस’ अभियान सञ्चालन गरिरहेको छ ।

एमालेले नगरभित्र ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सँगै निर्वाचन केन्द्रीत छलफल कार्यक्रमलाई तीव्रता दिएको छ । गत दोस्रो संविधानसभा चुनावमा ३८ हजार मतदाता रहेको नगरभित्र स्थानीय तहका लाग करिब ४५ हजार मतदाता हुन सक्ने अनुमान गरिएको छ ।