काठमाडौ/ राजदूत सिफारिस विवादित बनेपछि सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र स्पेनका लागि प्रस्तावितबाहेक अन्य १२ राजदूतको सुनुवाइ प्रक्रियाअघि बढाउन संसद्लाई पत्राचार गरेको छ । मन्त्रिपरिषद्ले युएईका लागि प्रस्तावित आशा लामा र स्पेनका लागि प्रस्तावित भरत रायमाझीबाहेक अन्य १२ राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन बिहीबार पत्राचार गरेको छ ।
मन्त्रिपरिषद्को पत्राचार अनुसार संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । समितिले शनिबारदेखि प्रस्तावित राजदूतविरुद्ध उजुरी भए दिन सर्वसाधारणलाई सार्वजनिक सूचनासमेत जारी गर्ने निर्णय गरेको छ । संसदीय सुुनुवाइ विशेष समितिका सचिव ध्रुवप्रसाद घिमिरेले भने , ‘सुनुवाइका लागि पत्र प्राप्त भई उजुरी आह्वान गर्ने निर्णय भएको छ । १२ देशका राजदूत उपर उजुर गर्न चाहनेका लागि भोलिदेखि १० दिनको समय दिने निर्णय भएको छ । ’
युएईका लागि प्रस्तावित राजदूत लामाको व्यावसायिक स्वार्थ जोडिएको भन्दै आलोचना भएको थियो । यस्तै, ओमनका लागि सिफारिसमा परेकी शर्मिला पराजुलीको नाम पनि विवादित थियो तर मन्त्रिपरिषद्ले उनको नाम सुनुवाइका लागि पठाएको छ ।