काठमाडौं/ लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव त्रिवि अन्तर्गतका केही आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा बुधवार सम्पन्न भएको छ । तर विद्यार्थी संगठनहरूबीच कुरा मिल्न नसक्दा अधिकांशजसो ठूला क्याम्पसहरूमा निर्वाचन हुन सकेन ।
राजनीतिक दलहरूले मिनी जनमत संग्रहको रूपमा लिने गरेको विद्यार्थीको चुनावलाई प्रतिष्ठाका रूपमा समेत लिने गरेका कारण चासोका साथ हेरिएको छ ।
तर धेरै विद्यार्थी अध्ययन गर्ने आरआर, त्रिचन्द्र, शंकरदेव, त्रिवि केन्द्रीय क्याम्पस, मीनभवन, पशुपति, पद्मकन्या, सरस्वती लगायत राजधानीका ठूला क्याम्पसमा निर्वाचन हुन सकेको छैन । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मिकी क्याम्पसमा समेत स्ववियु चुनाव रोकिएको छ । रोकिएका क्याम्पसहरूमा चुनाव हुने कि नहुने अन्योल रहेको छ ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले स्थगित भएका क्याम्पसहरूमा चुनाव गर्ने प्रयास जारी रहेको बताए । ‘आरआर, पिपुल्स क्याम्पसमा निर्वाचनको प्रक्रिया फेरि शुरु भएको छ, बाँकी क्याम्पसमा चुनाव गर्नका लागि विद्यार्थी संगठनहरूबीच सहमतिको प्रयास जारी छ,’ लामिछानेले भने ,‘नेविसंघ र क्रान्तिकारीले आन्तरिक व्यवस्थापन मिलाउन नसकेका कारण विद्यार्थीले भोट हाल्न पाउने अधिकारबाट वञ्चित हुने अवस्था बन्न लागेको छ, त्यसको जिम्मेवारी ती संगठनले लिनुपर्छ ।’
अनेरास्ववियु क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले स्ववियु चुनाव स्थगित भएका क्याम्पसमा चुनाव गराउनुपर्ने बताए ।
‘स्थगित भएका क्याम्पसहरूमा चुनाव गराउनुपर्छ, त्यसका लागि त्रिविले नै पहलकदमी गर्नुपर्छ,’ बस्नेतले भने, ‘फरक फरक मितिमा चुनाव गराउने कुरामा हाम्रो सहमति हुन सक्दैन ।’ बस्नेतले संगठनहरूले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा विद्यार्थी चुनाव प्रभावित हुन पुगेको स्वीकारे ।
नेविसंघका सहमहामन्त्री प्रेम जोशीले स्थगित भएका क्याम्पसमा फागुनभित्रै स्ववियु चुनाव गर्न त्रिविसँग माग गरेका छन् ।
‘स्थगन भएका क्याम्पसहरूमा यही महिनाभित्र चुनाव हुनुपर्छ,’ जोशीले भने, ‘चुनावलाई कुनै पनि बहानामा सार्न पाइँदैन ।’
अखिल र अखिल क्रान्तिकारीले नेविसंघले आन्तरिक व्यवस्थापन मिलाउन नसकेका कारण चुनाव हुन नसकेको भनाइलाई जोशी स्वीकार गर्दैनन् । ‘हामीले अधिकांश जसो क्याम्पसमा उम्मेदवार फाइनल गरिसकेका छौं,’ जोशीले भने, ‘यो हामीविरुद्धको गलत प्रचारबाजी हो ।’
आरआरमा झडप
यसैबीच चुनावका विषयमा विवाद हुँदा भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा विवाद भएको छ ।
१८ गतेका लागि त्रिविले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेपछि आरआर क्याम्पसले २३ गतेका लागि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ताको कार्यतालिका थियो । तर नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी समर्थित विद्यार्थी संगठनले अवरोध गरेपछि अवस्था तनावग्रस्त भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा पाँच जना घाइते भएका छन् । उनीहरुले स्थगित भएका सबै क्याम्पसमा चुनाव हुनुपर्ने माग गर्दै आएका छन् ।
पद्मकन्यामा अनशन
बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा स्ववियु चुनावको माग गर्दै नेविसंघका विद्यार्थी अनशनमा छन् । स्ववियु चुनाव गर्न सहज वातावरण हुँदाहुँदै पनि क्याम्पस प्रशासनले विभिन्न बहानामा चुनाव रोकेको उनीहरूको आरोप छ ।
अनशनमा बसेका नेविसंघका विद्यार्थी नेताले क्याम्पस प्रशासनले चुनावी वातावरण नबनाएसम्म अनशन जारी राख्ने बताउँदै आएका छन् ।
संगठनहरूका आ–आफ्नै दाबी
१८ गते देशभरका केही ठूलासहित साना क्याम्पसमा स्ववियु निर्वाचन भएको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त करीब दुई सय ३० क्याम्पसमा भएको निर्वाचनमा आफूहरूले धेरै स्थानमा हात पारेको नेविसंघ र अखिल दुवैले दाबी गरेका छन् । एमाले निकटको अनेरास्ववियुले १०६ तथा कांग्रेस निकट नेविसंघले १०५ स्थानमा जित हात पारेको दाबी गरेका छन् ।
त्यस्तै माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले ६६ स्थानमा जित दर्ता गरेको दाबी गरेका छन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकटका विद्यार्थी संगठनले एमाले निकटको अनेरास्ववियुविरुद्ध धेरै क्याम्पसमा संयुक्त प्यानल बनाएका थिए ।